२४ जेष्ठ २०८३, आइतबार | June 7, 2026

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा



बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो मातृ संस्था लुम्बिनी खुकुरी क्लबको आयोजनामा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत गौचनले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशन यही जेठ २५ गते भैरहवामा हुँदैछ ।

पत्रकार सम्मेलनमा बोल्दै गौचनले वर्तमान अध्यक्ष हरिबहादुर थापासँग अघिल्लो अधिवेशनमै पाँचौँ अधिवेशनमा आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको दाबी गरे । तर उक्त सहमति विपरीत थापाले पुनः अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि आफूले पनि औपचारिक रूपमा मैदानमा उत्रिनुपरेको उनले बताए ।

पूर्वस्पिनर गौचनले रूपन्देहीलाई क्रिकेटको उर्बर भूमि भएको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने तथा ग्रासरुट तहबाट क्रिकेट विकासलाई प्राथमिकता दिने लक्ष्यसहित नेतृत्वमा आउन लागेको बताए ।

उनले जिल्लामा विशेषगरी जुनियर तहको क्रिकेट विकासका लागि पूर्वाधार निर्माणमा थप लगानी र योजनाबद्ध काम आवश्यक रहेको बताए । आफू निर्वाचित भए आगामी चार वर्षभित्र जिल्लाका सबै छवटै नगरपालिकामा क्रिकेट मैदानलाई पूर्णता दिने र रूपन्देहीलाई राष्ट्रिय क्रिकेटको प्रमुख केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गौचनले जिल्लाका अधिकांश क्रिकेट क्लब तथा करिब ७५ प्रतिशत खेलाडीहरूको समर्थन आफूलाई रहेको दाबी गर्दै यसपटकको निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे ।

सन् २००१ मा यू-१७ टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका गौचनले सन् २०१८ मा खेल जीवनबाट सन्न्यास लिएका थिए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको ऐतिहासिक दिनमै उनले खेल जीवनबाट विश्राम लिएका थिए ।

हाल उनी भैरहवास्थित स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा सक्रिय छन् । साथै एक्स्ट्राटेक ओभल, न्यू होराइजन क्रिकेट क्लबलगायत विभिन्न संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । उनले नेपाली यू-१९ टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

पत्रकार सम्मेलनमा शक्ति गौचन समूहका उपाध्यक्ष पदका उम्मेदवार सञ्जीवराज जोशीले अघिल्लो अधिवेशनमै गौचनलाई नेतृत्व दिने भद्र सहमति भएको स्मरण गराउँदै त्यसलाई सम्मान गर्न आग्रह गरे ।

उनले नेपाली क्रिकेटमा करिब २५ वर्ष योगदान दिएका तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका गौचनलाई नेतृत्व दिने समय आएको बताए । गौचन नेतृत्वमा आएपछि रूपन्देहीको क्रिकेटलाई भारतको उत्तर प्रदेशका विभिन्न क्रिकेट क्लबहरूसँग जोडेर खेल पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको पनि जोशीले जानकारी दिए ।

क्रिकेट संघ रूपन्देहीको अध्यक्ष पदका अर्का प्रत्याशी वर्तमान अध्यक्ष हरिबहादुर थापाले शुक्रबार पुनः उम्मेदवारी घोषणा गरेका थिए । आगामी अधिवेशनमा गौचन र थापाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १ : १४ बजे

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

कैलाली । अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा

बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशनबाट चयन हुने नयाँ

रुपन्देहीको शुद्धोधन गाउँपालिका बकुलीमा टिपरको तीव्र गति विरुद्ध स्थानीयको विरोध, केही समय सडक अवरुद्ध

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ बकुलीमा नदीजन्य पदार्थ बोकेर आवतजावत