नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शाखाले जेठ मसान्तसम्म ११ महिनाको अवधिमा २२ हजार ३ सय ९४ जनाले आयुर्वेद सेवा लिएको जनाएको हो ।
आज खजुरामा आयोजना भएको आयुर्वेद सेवा सम्बन्धि पत्रकारहरुसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै सेवा केन्द्र खजुराका शाखा प्रमुख किरण खनालले हरेक बर्ष आयुर्वेद सेवा लिनेहरुको सङख्या दिप्रतिदिन बढदै गएको उल्लेख गरे । उनले सेवा केन्द्रले नियमित रुपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्व कर्म सेवा, पञ्च कर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धवद्र्धक औषधि (सतावरी चुर्ण)वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनँले सेवा लिनेहरुमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी रहेको समेत जानकारी दिए । खनालले आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढदै गएको बताउदै हाडजोर्नी, ग्याष्टिक, पाइल्स फिस्टुला, मधुमेह लगायतका विरामीले आयुर्वेद सेवा लिएको बताए । उनले भने, “यसको असर र प्रभाव देखिन केही समय लाग्न सक्छ ।”
सो अवसरमा सञ्चारकर्मी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो । पत्रकार खगेन्द्र दाहाल, चन्द्र बोहरा लगायतलाई गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले सम्मान गरेका थिए । वडा नम्बर ३ का कार्यबहाक अध्यक्ष देउमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले अहिले नसर्ने रोग चुनौतीका रुपमा रहेको बताउँदै जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए । उनले पछिल्लो समय विस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोल्दै आयुर्वेद प्रतिको मानिसको धारणा परिवर्तन हुनुपर्ने बताएका थिए ।


















प्रतिक्रिया