काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनालाई कमजोर बनाउने निर्णय गरे त्यसले देशलाई गम्भीर राजनीतिक र सामाजिक संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेज गर्ने, स्थानीय तहको संख्या एकतिहाइले घटाउनेलगायत संघीय संरचनामा व्यापक पुनर्संरचनाको प्रस्ताव अघि सारेपछि त्यसबारे राजनीतिक बहस चर्किएको छ।
यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै रास्वपाको यस्तो निर्णय भए त्यो ‘ठूलो भूल’ हुने बताएका हुन्।
उनले संविधान संशोधनका विषयमा सरकारले कार्यदल गठन गरेर राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेका बेला कुनै एक दलले आफ्नो धारणा सबैमाथि थोपर्ने प्रयास गरे राजनीतिक दल, विभिन्न जातीय समुदाय तथा आम नागरिकबीच विश्वासको संकट उत्पन्न हुन सक्ने उल्लेख गरेका छन्।
भट्टराईले नेपालजस्तो जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो संघर्ष र बलिदानपछि संविधानसभामार्फत स्थापित संघीय व्यवस्थालाई कमजोर पार्ने वा भत्काउने प्रयासले गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
उनले यस्तो अवस्था कसैको हितमा नहुने भन्दै संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त राष्ट्रिय सहमति नबन्दासम्म सुशासन र विकासका एजेन्डामै केन्द्रित हुनु बुद्धिमानी हुने धारणा व्यक्त गरेका छन्।



















प्रतिक्रिया