काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बिक्री गर्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ । फिफाले यसै साता सार्वजनिक गरेको प्रस्तावबारे छलफल गर्न बिहीबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य राष्ट्रले विश्वकप बहिष्कारको पक्षमा मतदान गरेका हुन् ।
उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ)ले पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्ताव आफ्ना ४१ सदस्य राष्ट्रले अस्वीकार गरेको जनाएको छ । बीबीसीका अनुसार कन्काकाफका सदस्य राष्ट्रहरूबीच पनि इन्फान्टिनोप्रतिको विश्वास कमजोर बन्दै गएको छ । यूईएफएले यसअघि नै विज्ञप्तिमार्फत उक्त योजनाको कडा विरोध जनाएको थियो । बिहीबारको बैठकले त्यस अडानलाई थप बलियो बनाएको हो ।
यूईएफएले विश्वकपलाई लगानीको वस्तु बनाउन नहुने स्पष्ट गर्दै विश्वकप विश्व फुटबलको सबैभन्दा ठूलो खेलकुदीय सम्पत्ति र पुस्तौँदेखि खेलाडी, राष्ट्रिय टोली तथा समर्थकले निर्माण गरेको साझा विरासत भएकाले यसको कुनै पनि हिस्सा निजी लगानीकर्तालाई सुम्पन नहुने जनाएको छ । यूईएफएको बहिष्कारमा पुरुष तथा महिला विश्वकपसँगै क्लब विश्वकपसहित फिफाका सबै प्रतियोगिता समावेश हुने बताइएको छ ।
बीबीसीका अनुसार यस विवादको पहिलो प्रभाव आगामी अक्टोबरमा हुने महिला विश्वकप प्लेअफ प्रतियोगितामा देखिन सक्ने अनुमान गरिएको छ ।
यूईएफएको बैठकमा इंग्ल्यान्ड फुटबल संघ (एफए)की अध्यक्ष डेबी हेविट र प्रमुख कार्यकारी मार्क बुलिङ्घमले पनि सम्बोधन गरेका थिए । फिफाका आठ उपाध्यक्षमध्ये एक रहेकी हेविटलाई समेत अध्यक्ष जियानी इन्फान्टिनोले अघि बढाएको यस योजनाबारे पूर्वजानकारी नभएको बताइएको छ ।

















प्रतिक्रिया