२३ श्रावण २०८३, शनिबार | August 8, 2026

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी



बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास (होमस्टे)को विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए ।

रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उनले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन् ।

ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ र आव २०८१/८२ मा रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले बताए । उनका अनुसार आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ ।

यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व रु ४६ लाख ४१ हजारले बढी हो ।

“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ । यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार रहेको छ । पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइ पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका हुन्”, सुवेदीले भने ।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई शुल्क तिरेर पालसहित बस्ने व्यवस्था पनि मिलाइएको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : ०६ बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,