नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेसँगै माहासंघले आजै राहत कोषमा ५१ हजार जम्मा गरेको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन, पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छ ।
विपद्को दुःखद् र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महासंघले यसअघि भदौ २१ गते आइतबार आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ (पत्रकार महिलाहरूलाई दर खुवाउने) कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ ।
उत्सव भन्दा मानवीय सहयोग, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित तीज कार्यक्रमका लागि छुट्याइएको रकममा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिको तर्फबाट थप रकम समेत गरी कुल रु. ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यसैगरी, भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणमा सहजता प्रदान गर्न नवीकरणको समयावधि थप गरिएको छ । यसअघि भदौ १५ गतेसम्म रहेको सदस्यता नवीकरणको अन्तिम म्याद थप १५ दिन बढाउँदै भदौ मसान्तसम्म कायम गर्ने निर्णय बैठकले गरेको छ ।
















प्रतिक्रिया