२० भदौ २०८३, शनिबार | September 5, 2026

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम भएको उल्लेख गरेका छन् ।

पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै उनले राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन् ।

उनले भनेका छन्, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”

“बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ”, उनले लेखेका छन् “यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।”

सरकारले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबालाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् । लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा पनि त्यस्तो बेला आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आएको उनको भनाइ छ ।

“अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ”, उनले भनेका छन् ।

बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उनले भनेका छन् ।

जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिक भोटेकोशीको बाढीले ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

बाढीपछि उद्धार तथा खोजीमा सुरक्षाकर्मी अझै खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताएका छन् ।

“हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्”, उनले भनेका छन् ।

आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ९ : ०९ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका