काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उक्त प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
















प्रतिक्रिया