काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेदेखि सुरु हुँदैछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको आचार्यले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटा एजेन्डामाथिको प्रक्रिया आजदेखि अघि बढाइने भएको छ । आज क्रमशः केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनसम्बन्धी एजेन्डा अघि बढाउने तयारी छ ।
त्यसैगरी सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन तथा अनुशासनसम्बन्धी विषयमा पार्टीको दृष्टिकोण तय गर्ने काम पनि यही बैठकबाट अघि बढाइने जनाइएको छ ।
एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटब्युरो, स्थायी कमिटीलगायतका संरचनामा नेताहरूको जिम्मेवारी बाँडफाँड भने भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।
हिजोको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
















प्रतिक्रिया