बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ ।
पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको छ । बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने यातायातका साधनले पनि सोही पुल प्रयोग गर्दै आएका थिए ।
पुलमा क्षति पुगेपछि लामो दूरीका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण, बिरामीको लागि वैैकल्पिक सडकको पहुँच नहुँदा समस्या भएको छ ।
पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको छ । ठूला सवारीसाधनका लागि वैकल्पिक मार्ग नहुँदा यातायात व्यवसायी मर्कामा परेका छन् । दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तुको आयातमा प्रत्यक्ष प्रभाव परेको छ ।
नयाँ पुल नजिकैको सडक मर्मत सकिएकाले म्याग्दीसम्म यातायत सञ्चालनमा आएको छ । मालढुङ्गाको पुल मर्मतको काम सुरु गरिएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
मूल संरचनामा बाढीले क्षति नपु¥याए पनि पुलसँगै जोडिएको ‘वाल फिलिङ’ कटान गरेकाले तत्कालका लागि ग्याबिन जाली लगाउने तयारी थालिएको छ । “चाडबाडको मुखमा पुल नहुँदा धेरै जिल्लामा असर गरेको छ, एक हप्ताभित्र पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको छ,” अधिकारीले भने ।
पानीको बहाव घटेपछि मात्र स्थायी रुपमा पुल मर्मत गर्न सकिने उनले जानकारी दिए । अहिले अस्थायी रुपमा पुल सञ्चालनका लागि काम थालिएको उनको भनाइ छ ।
















प्रतिक्रिया