काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले सम्बोधनका क्रममा उठाएका विषयबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका असर, जलवायु न्याय, विपद् व्यवस्थापन तथा प्रभावित समुदायको पुनर्स्थापनाका विषयलाई प्राथमिकताका साथ उठाएको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्ने क्रममा हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्व समुदायका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका थिए । उक्त विपद्बाट भएको जनधनको क्षति, भौतिक पूर्वाधारको विनाश तथा जनजीविकामा परेको असरबारे उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०।१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको विषय प्रधानमन्त्री शाहले महासभामा उठाएको मन्त्री खनालले बताए ।
जलवायु परिवर्तन नेपालका लागि वातावरणीय समस्या मात्र नभई मानवीय तथा विकासको संकटसमेत भएको प्रधानमन्त्रीको धारणा रहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको मुद्दालाई भूराजनीतिक स्वार्थको विषय बनाउन नहुनेमा जोड दिएको पनि परराष्ट्रमन्त्री खनालले संसद्लाई जानकारी गराए । जलवायु संकटको ऐतिहासिक जिम्मेवारी बढी भएका तथा पर्याप्त स्रोतसाधन र क्षमता भएका मुलुकहरूले यसको समाधानमा थप जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको धारणा राखेको मन्त्री खनालले बताए ।
परराष्ट्रमन्त्री खनालले महासभाका क्रममा आफूले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय पक्षसँग गरेका द्विपक्षीय र साइडलाइन वार्ताबारे पनि संसद्लाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाह गत असोज ६ गते महासभामा सहभागी हुन अमेरिका गएका थिए । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको उक्त सम्बोधनलाई अन्तर्राष्ट्रिय स्तरमा चासोका साथ हेरिएको थियो ।
















प्रतिक्रिया