२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर



कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर सुरक्षित भएको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् ।

‘बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए’, स्थानीय टेकबहादुर सुनारले भने, ‘अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ अब बस्तीमा बाढी पस्ने डर छैन ।’

नदीको कटानले बस्ती नै जोखिममा परेपछि यहाँका स्थानीयवासी पलायन हुन थालेका थिए । अहिले दुवै नदीमा पक्की तटबन्ध निर्माण भएपछि बाढी र कटानबाट बस्ती सुरक्षित बनेको सुनार बताउँछन् । गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि यहाँका स्थानीयले सुरक्षित महसुस गरेको उनको भनाइ छ ।

‘पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ, अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो’, स्थानीय मोतिराम सुनारले भने, ‘अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ ।’

बस्तीमा दुईवटा सेफहाउस बनेका छन् । सेफहाउसले बाढीबाट मानिसको ज्यान जोगाए पनि अन्न, लत्ताकपडा, पशुचौपाया क्षति हुन्थ्यो । नदीमा पक्की तटबन्ध बनेपछि विगतजस्तो बाढी बस्ती पस्ने खतरा कम भएको स्थानीय सुक्कादेवी सुनार बताउँछन् ।

‘विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गथ्र्यो’, उनले भने, ‘तटबन्ध बनेपछि हामी ढुक्क छौँ ।’ कुतियाकवरमा महाकाली नदीको बाढीबाट बर्सेनि खेतीयोग्य जमिन कटान हुँदै आएको थियो ।

कटानका कारण बस्ती नै जोखिममा परेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली नदी र जोगबुढा नदीमा ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो । त्यसको कुल लागत रु पाँच करोड १६ लाख ६७ हजार रहेको थियो ।

‘तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ’, आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले भने, ‘चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।’

उनले स्थानीयको मागबमोजिम बस्ती संरक्षणका लागि अन्य संरचना निर्माण हुने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ११ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना

नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन आजदेखि सुरु, पौडेल र गैरे प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको ७३औँ साधारणसभा तथा

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको