काठमाडौं । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ । ज्योतिषीय गणनाअनुसार अस्त भएको शुक्र आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछ ।
शुक्र ग्रह अस्त हुने अवधि नेपालीहरूको महान् चाड बडादसैँसँग परे पनि दसैँको पूजाआजा गर्न तथा टीका-जमरा ग्रहण गर्न कुनै बाधा नपर्ने बताइएको छ । नित्य र नैमित्तिक धार्मिक कर्म गर्न शुक्र अस्तले रोक नलगाउने शास्त्रीय मान्यता रहेको छ ।
ज्योतिषशास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणीय दूरीमा आएपछि ग्रह अस्त हुन्छ । यस्तो अवस्थामा उक्त ग्रहको प्रभाव कमजोर हुने विश्वास गरिन्छ । शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान तथा शुभ कार्यको कारक मानिन्छ । शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिने शुक्र अस्त हुँदा नयाँ तथा माङ्गलिक कार्य गर्न नहुने धार्मिक मान्यता छ ।
शास्त्रीय मान्यताअनुसार बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिनअघिदेखि सूतक लाग्ने र उदय भएको तीन दिनपछिसम्म पनि शुभ कार्य गर्न नहुने उल्लेख छ । तर, शुक्र अस्तको अवधिमा नियमित रूपमा गरिने धार्मिक कर्ममा भने रोक नलाग्ने बताइएको छ ।
यस अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्य व्रत, तुलसी पूजा, श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया तथा ग्रहणस्नानजस्ता कर्म गर्न सकिने धार्मिक मान्यता छ । बडादसैँका अवसरमा गरिने देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिनको नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, साधना, अष्टमीको बलि पूजा, हातहतियार पूजा तथा देवी विसर्जनमा पनि बाधा नपर्ने बताइएको छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्नसमेत शास्त्रीय बाधा नरहेको उल्लेख छ ।
यद्यपि, शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यको थालनी गर्न भने शास्त्रले निषेध गरेको छ । यस समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण, घर निर्माणको सुरुवात तथा गृहप्रवेश, मन्दिर निर्माण, देवता स्थापना, प्राणप्रतिष्ठा, चान्द्रायणादि व्रतको आरम्भ तथा उद्यापन, वधुप्रवेश, तुलादानजस्ता महादान, व्रतबन्ध, विवाह र कर्णवेधजस्ता संस्कार गर्न नहुने मान्यता छ ।
त्यस्तै, पहिलोपटक देवताको दर्शन गर्न जाने, नयाँ तीर्थयात्रा गर्ने, दीक्षा ग्रहण गर्ने, सन्न्यास व्रत लिने, अग्निहोत्र गर्ने, राज्याभिषेक तथा समावर्तनजस्ता कार्य पनि यस अवधिमा वर्जित मानिन्छन् ।
ज्योतिषशास्त्रमा शुक्रलाई सवारीसाधन र विलासिताको कारक ग्रहसमेत मानिने भएकाले यस अवधिमा नयाँ सवारीसाधनको खरिद–बिक्री नगर्नु उपयुक्त हुने र विलासी जीवनशैली तथा सामग्रीको प्रयोगमा सचेत रहनुपर्ने मान्यता रहेको छ ।


















प्रतिक्रिया