जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कूल ९३ जना खेलाडी सहभागी भएका जनाउँदै उनले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउँदा २१ जना खेलाडी प्रथम हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका बताए ।
उक्त खेलमा छनोट भएका खेलाडी पुरुषतर्फ रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलाधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत छन् । महिलातर्फ जुम्लाकी निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतकी दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन् ।
साथै पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलकुद विकास समितिको कार्यालय जुम्लाले जनाएको छ । समितिका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


















प्रतिक्रिया