२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै



ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘म उद्यमी ट्रेडमार्क’ अभियान देशव्यापी रूपमा विस्तार गर्ने भएको छ ।

महिला उद्यमीका उत्पादनको पहिचान स्थापित गर्दै उपभोक्ताको विश्वास बढाउने र बजार पहुँच विस्तार गर्ने उद्देश्यले अभियानलाई देशभरका महिला उद्यमीसम्म पुर्‍याउन लागिएको महासङ्घले जनाएको छ ।

अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठले गुणस्तरीय उत्पादनसँगै त्यसको पहिचान र बजारमा छुट्टै स्थान बनाउन आवश्यक रहेको बताइन् ।

“गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ,” उनले भनिन् ।

‘मेरो पहिचान, मेरो उद्यम’ मूल नारा

‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल भावनासहित अघि बढाइएको ‘म उद्यमी’ अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई साझा पहिचानमा जोड्ने अध्यक्ष श्रेष्ठले बताइन् ।

नेपाली महिला उद्यमीका उत्पादनमा स्थानीय सीप, संस्कृति, मौलिकता र सिर्जनशीलता झल्किए पनि धेरै उत्पादनले बजारमा अपेक्षित पहिचान र अवसर पाउन नसकेको उनको भनाइ छ । ट्रेडमार्कमार्फत उत्पादनको पहिचान स्थापित गर्न, उपभोक्ताको विश्वास बढाउन र व्यावसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने उनले बताइन् ।

गत असारमा प्रधानमन्त्रीसँग भएको भेटमा पनि ‘म उद्यमी’ ट्रेडमार्कको महत्त्व र यसको पहुँच विस्तारबारे चासो व्यक्त भएको उल्लेख गर्दै श्रेष्ठले अभियानलाई राष्ट्रिय स्तरमा अघि बढाउने प्रतिबद्धता जनाइन् ।

महासङ्घले सातै प्रदेश तथा जिल्लास्थित महिला उद्यमी सङ्घमार्फत उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी, वित्तीय तथा बजार पहुँच विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा काम गर्दै आएको जनाएको छ ।

ब्रान्डिङ, प्याकेजिङ र डिजिटल उपस्थितिमा जोड

महासङ्घले आगामी दिनमा ‘म उद्यमी’ अभियानको पहुँच विस्तारसँगै उद्यमी तथा उत्पादनको व्यवस्थित अभिलेखीकरण, गुणस्तर सुधार, ब्रान्डिङ, प्याकेजिङ र डिजिटल उपस्थितिलाई सुदृढ बनाउने योजना अघि सारेको छ ।

यसका लागि प्रदेश तथा जिल्ला सङ्घ, सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गरिने अध्यक्ष श्रेष्ठले बताइन् ।

कार्यक्रममा महिला उद्यमी तथा उनीहरूका उत्पादनको प्रोफाइलिङ, उत्पादन प्रदर्शनी र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकता दिइएको थियो । प्रदर्शनीमार्फत उपभोक्ता, वितरक, व्यावसायिक साझेदार तथा सम्भावित बजारलाई महिला उद्यमीका उत्पादनसँग जोड्ने लक्ष्य राखिएको छ ।

महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै श्रेष्ठले उद्यमशीलता, उत्पादन र सफलताका कथालाई आम नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरिन् ।

महासङ्घकी प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले अभियानको पहुँच देशभर विस्तार गर्न प्रेरणा दिएको भन्दै प्रधानमन्त्रीप्रति आभार व्यक्त गरिन् । द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीका उत्पादनको प्रचारप्रसारका लागि सार्वजनिक–निजी संवादअन्तर्गत ‘पोडकास्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी दिइन् ।

त्यस्तै, महासचिव सविता सुवेदीले सामूहिक ट्रेडमार्क प्रोफाइलिङमार्फत महिला उद्यमीको अवस्था, उत्पादनको विविधता, बजारको आवश्यकता र व्यावसायिक सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन हुने अपेक्षा गरिएको बताइन् ।

महासङ्घले ‘म उद्यमी’ अभियानलाई हिमाल, पहाड र तराईका महिला उद्यमीका उत्पादनलाई एउटै राष्ट्रिय पहिचानमा जोड्ने पहलका रूपमा अघि बढाएको छ । नेपाली उत्पादनको गुणस्तर, मौलिकता र विश्वसनीयता प्रवर्द्धन गर्दै महिला उद्यमशीलतालाई प्रतिस्पर्धी र दिगो बनाउनु अभियानको मुख्य लक्ष्य रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ८ : ३२ बजे

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको