वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ”, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित रु ७५ लाख ४४ हजार ४९ मूल्यका सामान बरामद गरेको छ ।
यस्तै अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा रु तीन लाख ११ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, गत महिनाको विवरणअनुसार जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक मल्लले ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको पनि बताए ।


















प्रतिक्रिया