काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । आज काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन् । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
काठमाडौं गोर्खाज दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । पहिलो खेलमा पराजित भएको काठमाडौंलाई आज जित निकाल्दै प्रतियोगितामा खाता खोल्ने अवसर छ ।
उता, कर्णाली याक्सले भने सुरुवाती दुई खेलमा जित निकाल्दै चार अंक जोडिसकेको छ । कर्णाली आजको खेलमा जित हासिल गर्दै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेलमा मात्रै जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित निकाल्दै आफ्नो स्थिति सुधार्ने प्रयासमा हुनेछ ।
चितवन राइनोज भने दुई खेलमा अपराजित छ । एक खेलमा जित निकालेको चितवनले अर्को खेल वर्षाका कारण अंक बाँडेको थियो । चितवन आजको खेलमा पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
















प्रतिक्रिया