सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये थप दुई जना बुधबार पक्राउ परेका छन् । फरार भएको पाँचौँ दिन थप दुई जना पक्राउ परेसँगै नियन्त्रणमा आउने कैदीबन्दीको संख्या चार पुगेको छ । अझै चार जना फरार छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित रङ गाउँमा स्थानीय कमला बुढाको घरमा लुकेर बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-७ निवासी २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका-९ निवासी १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन् ।
प्रहरीका अनुसार रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। परियार चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।
यसअघि मंगलबार रुकुम पश्चिम प्रहरीले फरार दुई कैदीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका-६ दामाचौरस्थित खोली बगरबाट बिहान १०ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० निवासी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ निवासी २८ वर्षीय रेशम राना छन् । प्रहरीले उनीहरू दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी भएको जनाएको छ ।
सुरुङ खनेर फरार भएका थिए आठ कैदी
कात्तिक १४ गते बिहान करिब ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका-३ स्थित जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए। उनीहरूले कारागारभित्र सुरुङ खनेर त्यही बाटो हुँदै भागेका थिए ।
घटना सार्वजनिक भएपछि फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको थियो । पाँच दिनको अवधिमा मंगलबार र बुधबार दुई-दुई जना पक्राउ परेका छन् ।
आधा कैदीबन्दी पक्राउ परे पनि बाँकी चार जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया