काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेको छ। यस्तै, फ्लोट इन्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले ओरालो लागेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचकमा मात्रै सामान्य वृद्धि भएको छ। बाँकी सबै उपसमूहका परिसूचक घटेका छन्।
बजार परिसूचकसँगै सेयर कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार घटेर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ। आज कुल १ करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
बिहीबार आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा बढी १८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोपावरको पनि १४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
आज १०।२५ प्रतिशत केबीएल डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै ५.०९ प्रतिशतले घटेको छ।
समग्रमा बिहीबार सेयर बजारको परिसूचक र कारोबार रकम दुवै घटेका छन्।
















प्रतिक्रिया