१३ श्रावण २०८३, बुधबार | July 29, 2026

धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकियो



टीकापुर । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ ।

खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन ।

धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन ढिलाइ गरी पुनः खरिद सुरु गर्ने टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिए । “हामीसँग भएका सबै बोरा सकिएका छन्, धान खरिद गरेपछि केमा राख्ने? समस्या भएर केही दिन रोकेका हौँ,” कठायतले भने, “बोरा व्यवस्थापन गर्दै छौँ, केही दिनमा फेरि सुरु गर्छौँ ।”

टीकापुरमा कात्तिक १८ गतेदेखि खरिद सुरु गरेको खाद्य व्यवस्था तथा कम्पनीले टीकापुर-१ को खाद्य गोदाम र वडा नं ४ को मौरनियाबाट धान खरिद गरिरहेको छ । टीकापुरको खाद्य गोदाममा भण्डारण गर्ने ठाउँ नहुँदा अहिले मौरनियाबाट धान खरिद भइरहेको उनी बताउँछन ।

“मौसमसँगै बोराको व्यवस्थापन भए आउँदो आइतबारदेखि मौरनियाबाट धान खरिद सुरु हुन्छ,” कठायत भन्छन्, “कम्पनीले यस आर्थिक वर्षमा कैलालीका विभिन्न चार स्थानबाट ६२ हजार क्विन्टल धान किसानबाट खरिद गर्ने लक्ष्य राखेर खरिद सुरु गरेको हो ।”

कम्पनीले टीकापुरबाट अहिलेसम्म आठ हजार क्विन्टल धान खरिद गरिसकेको छ । कम्पनीको लक्ष्यअनुरुप किसानबाट केन्द्रमा धान आउञ्जेल किसानको धान खरिद गरिने उनले बताए । खाद्य व्यवस्था तथा कम्पनीले प्रतिक्विन्टल मोटा धान दुई हजार ७३५ रुपैयाँ र मध्यम धान दुई हजार ८८५ रुपैयाँमा खरिद गरिरहेको छ ।

कम्पनीले धान खरिद गर्ने स्थानमा दैनिक सयौँ साधन धान बिक्रीका लागि लाइनमा बसेका हुन्छन् । बिहानै ४ बजेदेखि धान बिक्रीका लागि किसानको लाइन लाग्ने गरेको छ । उचित मूल्य पाएपछि लाइनमा बसेका किसानले धान बेच्न नपाउँदा भने दिक्क भएका छन् ।

“गाउँ तथा बजारमा रहेका गल्लामण्डीमा मूल्य पाइँदैन, त्यहाँ दुई हजारदेखि दुई हजार ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ,” स्थानीय किसान बन्धुराम चौधरी भन्छन्, “यहाँ उचित मूल्य पाइन्छ भनि मैले धान बेचेको छैन । मजस्ता धेरै किसानले बिक्री गर्न पाएका छैनौँ ।”

किसानले धानको बिक्री मूल्य उचित पाउँदा यस वर्ष सरकारी खरिद केन्द्रमै धान बेच्ने गरेका हुन् । “धानको लागतअनुसारको उचित मूल्य पाउँदा हामी खुसी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ,” जानकी-६ का किसान सन्देश विक भन्छन्, “धान बेच्ने किसानको लर्को नसकिँदै अहिले धान खरिद बन्द भएको छ । गाउँतिरका किसानले पनि यस वर्ष उचित मूल्य पाइन्छ भन्दै धान बिक्री गरेका छैनन् ।”

किसान विक खरिद केन्द्रले खरिद गर्ने ठाउँ बढाएर भए पनि किसानलाई सहज धान बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । “अहिले दुई ठाउँबाट खरिद गर्न थालिएको छ । थप दुई ठाउँ थपेर धान खरिद गरिनुपर्छ,” उनले भने, “कैलाली धानखेतीका लागि उर्वरभूमि हो । उचित मूल्य पाएमा कृषिमा थप आकर्षण बढ्छ ।” रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : १४ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला