९ असार २०८३, मंगलबार | June 24, 2026

टर्कीबाट ल्याइएको दाते ओखरको बिरुवा कृषकलाई अनुदानमा वितरण



रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो ।

कार्यालयले क्षेत्रगत आधारमा दुई जातको ओखरको बिरुवा ल्याएको कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिए । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको डा चौवेले बताए । उनका अनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्याङ्क्विट जातको भाले बिरुवा ल्याइएको छ ।

अहिले ल्याइएका यिनै बिरुवाले आठ/दश वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्नेछन् । त्यसो भएमा बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयले जनाएको छ । कृषकको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने डा चौवेले बताए । उनका अनुसार टर्कीबाट बिरुवा खरिद गर्दा प्रतिबिरुवा रु ४५० पर्न गएको छ । कृषकले भने ५० प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २२५ तिर्नुपर्ने छ ।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-३ बाहेक ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका कृषकलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । हाल जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयको ओखर जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम सञ्चालन भइरहेको छ ।

ओखरका लागि रुकुम (पूर्व) उपयुक्त ठाउँ भए पनि सिँचाइ अभाव रहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा चौवेले बताए । यस जिल्लामा ओखर खेतीको राम्रो सम्भावना भएकाले केही वर्षपछि यिनै बिरुवा हुर्किए भने ओखरखेतीबाट यहाँका नागरिकले मनग्य लाभ लिन सक्ने उनले बताए ।

जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट सात/आठ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो ।

परीक्षण सफल भएपछि गत वर्ष टर्कीबाटै तीन हजार ८०० बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो । यस कार्यालयबाट मात्रै २९/३० हजारको हारहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ भने स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि कृषकलाई अनुदानमा दाँते ओखरको बिरुवा वितरण गर्दै आएका छन् ।  रासस

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ३३ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३