८ बैशाख २०८१, शनिबार | April 20, 2024

नाका खुल्यो खुलेन यातायात



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल-भारतमैत्री बस सेवा एक वर्षदेखि ठप्प भएको छ । कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि सीमा नाका खुले पनि बस सञ्चालनमा आउन नसक्दा एक वर्षसम्म नेपाल भारतमैत्री बस सेवा ठप्प भएको हो ।

बस सञ्चालनमा नआउँदा बस व्यवसायी समस्यामा परेका छन् । प्रत्येक दिन महेन्द्रनगर बसपार्कबाट भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रका लागि छुट्ने बस अहिले छुट्न पाएका छैनन् । बस छुट्न नपाउँदा ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायी संकटमा परेका छन् ।

“कोरोना महामारीले गर्दा बस सेवा ठप्प भएको पनि झन्डै एक वर्ष भयो । कोरोना कहरको अवस्था सामान्य भएर नाकासमेत सञ्चालन भएको अवस्था भए पनि नेपाल-भारतमैत्री बस सेवा सञ्चालन आउन सकेको छैन,” महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका सचिव तथा बस व्यवसायी देवराज जोशीले भने, “बस सञ्चालन गर्न नपाउँदा लाखौं घाटा भइरहेको छ । व्यवसाय सञ्चालन गर्नका लागि ठूलो लगानी गरेको भए पनि लगानी डुब्ने अवस्थामा पुगेको छ ।”

महेन्द्रनगर बसपार्क क्षेत्रबाट दैनिक रूपमा भारतको राजधानी नयाँ दिल्ली र देहरादून क्षेत्रका लागि प्रत्येक दिन भारतीय र नेपाली गरेर १० वटा बस छुट्ने गर्छन्, जसमा पाँचवटा बस नेपाली नम्बर प्लेटका छुट्ने गरेका छन् भने पाँचवटा भारतीय नम्बर प्लेटका बसहरू भारतीय क्षेत्रका लागि छुट्ने गरेको सचिव जोशीले बताए ।

महेन्द्रनगरबाट छुट्ने पाँचवटा बसले एक ट्रिपमा ५० हजारका दरले २ लाख ५० हजार कारोबार गर्ने गर्छन् । तर, गत वर्षको चैत ९ गतेबाट नेपाल–भारतमैत्री बस सेवा ठप्प हुँदा बस व्यवसायीको व्यवसाय नै चौपट भएको छ । बस ठप्प हुँदा ठूलो लगानी गरेका बस धनीहरू पनि सडकमा आउनुपर्ने बाध्यात्मक स्थिति आउन थालेको व्यवसायी जोशीले बताए । “बस सञ्चालन नभएपछि बसको मर्मत खर्चलगायत करसँगै बसको बिमा पनि बढ्दै गएको छ,” जोशीले भने ।

योसँगै बस व्यवसाय सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणले पनि बस व्यवसायीलाई धक्का दिएको छ । घर घडेरी हुने व्यवसायीले सस्तोमा नै घरघडेरी बिक्री गरेको भए पनि सम्पत्तिको नाममा बसमात्रै हुने व्यवसायीको अवस्था भने नाजुक रहेको उनको भनाइ छ ।

नेपाल-भारतमैत्री बस सेवाका बसहरू महेन्द्रनगर बसपार्कलगायतका क्षेत्रहरूमा गत वर्षको चैत महिनादेखि स्ट्यान्ड गरिएका छन् । लामो समयसम्म पनि ठप्प भएका बस सञ्चालनमा नआउँदा बसका विभिन्न भागमा खिया लागेको छ भने टायर सडेगलेको अवस्था रहेको बस व्यवसायीको गुनासो छ ।

महेन्द्रनगरबाट भारतका लागि छुट्ने बस सेवा कम्पनीमध्ये महाकाली यातायात बहुउद्देश्यीय कम्पनी र पवनदूत बस व्यवसायी कम्पनीले मात्रै नेपाल-भारतमैत्री बस सेवा सञ्चालन गरेका छन् । अधिकांश भारतीय यात्रुले बसमा ओहोरदोहोर गर्ने गरेका थिए भने नेपाली नागरिकहरूले पनि सेवा लिँदै आएका थिए ।

“कोरोना महामारीको समयमा बन्द भएको सीमा नाका आंशिक रूपमा केही खुलेको अवस्था छ । भारतीय नागरिकले नेपाल र नेपाली नागरिकले भारत जाने वातावरण एकदमै सहज भएको छ,” अर्का व्यवसायी तथा पवनदूत बस व्यवसायी कम्पनीका उपाध्यक्ष महेशप्रसाद बोहराले भने, “नागरिकलाई आवतजावत गर्न दिएको भए पनि बसलाई आवतजावत गर्न सहज भएको छैन । भारततर्फ सहज वातावरण भए पनि नेपालतर्फ बन्द रहेको नेपाल-भारतमैत्री बस सेवा सञ्चालन गर्न सहजता प्रदान गरेको छैन ।”

बस सेवा सञ्चालन गर्न नेपाली पक्षले सहज वातावरण नबनाउँदा नेपाली नागरिकले भारतीय सहर बनबासा गएर दिल्ली जानुपर्ने उपाध्यक्ष तथा बस व्यवसायी बोहराले बताए । नेपाल-भारतमैत्री बस सेवा सञ्चालन नहुँदा भारतीय सहर नयाँ दिल्ली र देहरादून क्षेत्रबाट नेपाल आउने नेपाली नागरिकलाई पनि समस्या भएको छ । भारतीय सहरबाट नेपालका विभिन्न जिल्लाका लागि महेन्द्रनगर भएर आउने नेपाली यात्रुको सङ्ख्या पनि पछिल्लो समयमा नाका सहजता नगर्दा घट्दै गएको बोहराको भनाइ छ ।

नेपाल सरकारले कोरोना प्रभावित क्षेत्रलाई विभिन्न सेवा-सुविधा दिने भए पनि केही नपाएको गुनासो व्यवसायीको छ । राहतको नाममा सवारी सञ्चालन गर्न पाए पनि निकै राहत मिल्ने व्यवसायी बोहराको बुझाइ छ ।

यस्तै यता उद्योग वाणिज्य संघले भने नाका सञ्चालन गराउनका लागि पहल गरेको भए पनि पूर्ण रूपमा नाका सञ्चालन गराउन समस्या रहेको जनाएको छ ।

संघका महासचिव विनोद जोशीले कोरोना महामारीले गर्दा उथलपुथल भएको विश्व अर्थतन्त्र कोरोना खोप आएपछि सामान्य बन्दै गएको अवस्थामा भारतसँग जोडिएको नाका पूर्ण रूपमा सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग वाणिज्य संघले पहलकदमी गरिररहेको बताए । उक्त समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ६ : ४६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा