२ पुस २०८२, बुधबार | December 17, 2025

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यरातमा ढुङ्गा हानाहान



भक्तपुर । भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शनिबार अपरान्ह ४ बजेदेखि रथ तान्न सुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ । अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ । यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो । भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनी बताउँछन् ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुनपुगेको श्रेष्ठको भनाइ छ । बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउँछन् । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनको भनाइ छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा सुरु गरिन्छ ।

देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आ–आफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।

-रासस

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ०८ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको