१२ मंसिर २०८३, शनिबार | November 28, 2026

नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई, केन्याका जुलियस बने च्याम्पियन



नेपालगन्ज । १२ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा केन्याका जुलियस मुरिउकीले निर्धारित दूरी २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले नगद २ लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गरे । म्याराथनमा नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए । कुलबहादुरले २ घण्टा २३ मिनेट १ सेकेन्ड र कृष्णबहादुरले २ घण्टा २४ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । उनीहरूले क्रमशः १ लाख र ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा करन रावल चौथो, भूपेन्द्र चालिसे पाँचौँ, कर्णबहादुर रोका मगर छैटौँ, एल्काना किमेली सातौँ, राजन चौधरी आठौँ, कमलराज तिमल्सिना नवौँ र निरज भट्ट दसौँ भए । शीर्ष दस स्थान हासिल गर्ने खेलाडीलाई निर्धारित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

महिला हाफ म्याराथनतर्फ जुम्लाकी राज्यलक्ष्मी रावत च्याम्पियन बनिन् । उनले निर्धारित दूरी १ घण्टा २७ मिनेट ३४ सेकेन्डमा पूरा गरिन् । सम्झना लिम्बु १ घण्टा २८ मिनेट २८ सेकेन्डसहित दोस्रो र सरस्वती भट्टराई १ घण्टा ३० मिनेट ३५ सेकेन्डसहित तेस्रो भए । अगा लिम्बुले पाँचौँ स्थान हासिल गरिन् । हाफ म्याराथनका शीर्ष चार खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

१० किलोमिटर खुला पुरुषतर्फ गणेश रावत प्रथम, बलबहादुर राई दोस्रो र बुद्धिराम भुसाल तेस्रो भए । उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, पाँच किलोमिटर खुला पुरुषतर्फ दामोदर बस्नेत, रितेश घर्ती मगर र प्रकाश यादव शीर्ष तीन स्थानमा रहे । महिला खुलातर्फ स्वस्तिका शाही, सरिता राना र अप्सरा बम ठकुरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । दुवै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः १० हजार, ५ हजार र २ हजार रुपैयाँ प्रदान गरियो ।

ह्वीलचेयर दौडतर्फ यज्ञबहादुर खत्री, मनकुमारी परियार, देवकुमारी थारु, श्यामकली थारु र थमन थारुले शीर्ष पाँच स्थान हासिल गरे ।

कर्पोरेट रनतर्फ इन्जिनियर प्रवीण बस्नेत, डा. विश्वनाथ शर्मा, इन्स्योरेन्स म्यानेजर नवीन शर्मा र डा. जोसन न्यौपाने शीर्ष चार स्थानमा रहे ।

यसैगरी, पाँच किलोमिटर स्कुलस्तरीय दौडलाई प्रतिस्पर्धाविहीन बनाइएको थियो । साना बालबालिकालाई जितहारको मनोविज्ञानबाट मुक्त राख्दै खेलप्रति उत्साहित गराउने उद्देश्यले सबै सहभागीलाई पदक प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजेता खेलाडीहरूलाई मिस नेपाल वर्ल्ड दीपमाला ढकाल, केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगड र दिव्या दुगड, शिखर प्लाईकी निर्देशक कुसुम दुगड, केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, संस्थापक सदस्य जनक नेपाल, पूर्वउपमेयर उमा थापा तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव भीम ओलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले म्याराथनको उद्घाटन गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङसहित सुरक्षा निकायका अधिकारीहरू स्वयं उपस्थित भई सडक व्यवस्थापनमा सहयोग गरेका थिए ।

नेपालगन्ज म्याराथनको १२ औँ संस्करणमा पहिलोपटक विदेशी खेलाडीले उपाधि जित्नु प्रतियोगिताको ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : २५ बजे

Your email address will not be published.

नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई, केन्याका जुलियस बने च्याम्पियन

नेपालगन्ज । १२ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

मुस्ताङ । मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

काठमाडौं । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास,

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

पोखरा । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु