काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रालयले मंसिर ११ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो। निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखको जिम्मेवारी परिवर्तन गरिएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ। उनको स्थानमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
मन्त्रालयले गृह मन्त्रालय वा अन्तर्गत कार्यरत पाँच सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरेको छ।
निर्णयअनुसार गीता कुमारी होमागाईंलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेम्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
मन्त्रालयको उक्त निर्णयसँगै अध्यागमन विभागको नेतृत्व परिवर्तन हुनुका साथै विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा समेत फेरबदल भएको छ।
















प्रतिक्रिया