१९ बैशाख २०८१, बुधबार | May 1, 2024

हलेसी दर्शन गरी फर्केको बस दुर्घटना : एक जनाको मृत्यु २२ जना घाइते



खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कदुवास्थित सडकको घुम्ती पुग्न लाग्दा दुर्घटनामा परी पल्टिएको बस करिब २० मिटर तल सडकमै अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनामा सप्तरी कञ्चनरूप नगरपालिका-१२ का सीता नेपाल, रमा नेपाल, निश्चल नेपाल, कोपिला नेपाल, प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तीहर, होम श्रेष्ठ, रमा श्रेष्ठ, प्रजिता नेपाल, गीता श्रेष्ठ, विमला पोखरेल, उर्मिला श्रेष्ठ, लीला श्रेष्ठ, सुद्धीदेवी महतो, सरिता श्रेष्ठ, भीमा विश्वकर्मा, कुलमान विश्वकर्मा, दिनेश गहतराज, टेक श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ र चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घाइते भएका छन् । घाइतेमध्ये नौ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कतिपय घाइतेलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मिटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर गन्तव्यतर्फ पठाएको स्थानीयवासी देवराज केसीले बताए । केसीका अनुसार बसमा चालक र सहचालकसहित ३५ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते बनेका व्यक्तिलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको नगरप्रमुख इवन राईले बताए । पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा तीन/चार घण्टा सडक अवरुद्ध बनेको थियो ।

स्थानीय कासिन्दा, प्रहरीचौकी च्यास्मिटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए । दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज कार्कीलगायतको टोली घटनास्थल पुगेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा अवस्थित हलेसीमा १५ दिने मेला लागेको छ । रामनवमीको अवसर पारेर त्रिधार्मिक धाम हलेसीमा लागेको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको जनाइएको छ । पछिल्लो समय अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ ।

राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको जयरामघाट र हर्कपुरमा पक्की पुल बनेपछि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफँैले सवारी साधन लिएर आउने गरेका हुन् । हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार रहेका छन् । रासस

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ११ बजे

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड

लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण