४ आश्विन २०८३, आइतबार | September 20, 2026

हलेसी दर्शन गरी फर्केको बस दुर्घटना : एक जनाको मृत्यु २२ जना घाइते



खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कदुवास्थित सडकको घुम्ती पुग्न लाग्दा दुर्घटनामा परी पल्टिएको बस करिब २० मिटर तल सडकमै अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनामा सप्तरी कञ्चनरूप नगरपालिका-१२ का सीता नेपाल, रमा नेपाल, निश्चल नेपाल, कोपिला नेपाल, प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तीहर, होम श्रेष्ठ, रमा श्रेष्ठ, प्रजिता नेपाल, गीता श्रेष्ठ, विमला पोखरेल, उर्मिला श्रेष्ठ, लीला श्रेष्ठ, सुद्धीदेवी महतो, सरिता श्रेष्ठ, भीमा विश्वकर्मा, कुलमान विश्वकर्मा, दिनेश गहतराज, टेक श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ र चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घाइते भएका छन् । घाइतेमध्ये नौ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कतिपय घाइतेलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मिटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर गन्तव्यतर्फ पठाएको स्थानीयवासी देवराज केसीले बताए । केसीका अनुसार बसमा चालक र सहचालकसहित ३५ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते बनेका व्यक्तिलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको नगरप्रमुख इवन राईले बताए । पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा तीन/चार घण्टा सडक अवरुद्ध बनेको थियो ।

स्थानीय कासिन्दा, प्रहरीचौकी च्यास्मिटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए । दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज कार्कीलगायतको टोली घटनास्थल पुगेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा अवस्थित हलेसीमा १५ दिने मेला लागेको छ । रामनवमीको अवसर पारेर त्रिधार्मिक धाम हलेसीमा लागेको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको जनाइएको छ । पछिल्लो समय अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ ।

राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको जयरामघाट र हर्कपुरमा पक्की पुल बनेपछि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफँैले सवारी साधन लिएर आउने गरेका हुन् । हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार रहेका छन् । रासस

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ११ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी