२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बजेटभन्दा अन्तर्राष्ट्रिय व्यापार ठूलो



काठमाडौं । आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ ।

यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढ्दा ११ महिनामै बजेटको आकारभन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कुल व्यापारमध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात् १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ हुन आउँछ । कोभिड-१९ सङ्क्रमणको झन् सङ्क्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागिरहेको विभागको तथ्याङ्कले पुष्टि गर्छ । व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङ्कले देखाउँछ ।

कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको छ । तथ्याङ्कअनुसार गत जेठको तुलनामा यस्तो घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १० खर्ब १२ अर्ब रुपैयाँ थियो ।

वस्तुगत रूपमा कुल आयातमध्ये सबैभन्दा धेरै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि ६५ अर्ब २३ करोड रुपैयाँको अर्धप्रशोधित फलाम तथा स्टिल, ४४ अर्ब ६२ करोड रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब १४ करोड रुपैयाँको मोबाइल फोन र ३३ अर्ब १५ करोड रुपियाँको एलपी ग्याँस आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि छ अर्ब ६१ करोड रुपैयाँको अलैँची, तीन अर्ब ४८ करोड रुपैयाँको गलैँचा, तीन अर्ब २३ करोड रुपैयाँको ऊनी कपडा र तीन अर्ब १३ करोड रुपियाँको कालो चिया निर्यात भएको छ ।

चीनसँग उच्च व्यापार घाटा

त्यसो त नेपालको अन्तर्राष्ट्रिय व्यापार दशकौँदेखि घाटामै चलिरहेको छ । भूपरिवेष्ठित मुलुकका रूपमा सामुद्रिक बन्दरगाहसम्म पहुँच नहुँदा छिमेकी देशहरूसँगको निर्भरता पछिल्लो वर्ष झन्झन् बढ्न थालेको तथ्याङ्कले पनि पुष्टि गर्छ । कोभिड-१९ सङ्क्रमणकै अवस्थामा पनि व्यापार घाटा चुलिँदो छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ८० प्रतिशतभन्दा बढी हिस्सा राख्ने छिमेकी मुलुक भारत र चीनमै घाटाको खाडल झन् गहिरिँदो छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको जेठसम्म भारत र चीनसँग नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार ११ खर्ब ८८ करोड रुपैयाँ नाघेको छ । जब कि सबै देशसँग गरेर कुल अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्ब चार अर्ब रुपैयाँ रहेको छ अर्थात् भारत र चीनबाहेक बाँकी सबै देशसँगको कुल व्यापार केवल तीन खर्ब रुपियाँ मात्र देखिन्छ ।

दुई छिमेकी देशमध्ये पनि चीनसँगको व्यापार निकै असमान देखिन्छ । चीनबाट दुई खर्ब १० करोड रुपियाँको आयात हुँदा जम्मा ९४ करोड रुपैयाँको मात्र निर्यात भएको छ अर्थात् निर्यातको तुलनामा आयात २२४ गुणाले बढी छ । यसले चीनसँग नेपालको व्यापार घाटा उच्च देखाउँछ । तथ्याङ्कअनुसार चीनसँग दुई खर्ब नौ अर्ब रुपियाँको व्यापार घाटा भएको देखिन्छ ।

भारत भने आठ खर्ब ८६ करोड रुपैयाँको आयात हुँदा ९० अर्ब १९ करोड रुपियाँको निर्यात भएको छ । रकमको हिसाबले भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ तर अनुपात भने चीनको तुलनामा कम छ अर्थात् निर्यातको तुलनामा आयात १० गुणाले बढी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ५३ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा