१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सूर्यबहादुर उर्फ आलोक



वाहिरी संसार जुनको उज्यालोले झलमल्ल भए पनि घरको संसारमा खग्रास लागेको थियो, आलोकको । उसको झुपडी भित्र अंध्यारोको साम्राज्य व्याप्त । अभावग्रस्त एउटा परिवारको जिन्दगी । गाउभरि मुर्दाशान्ति ।

आगनभरि लास,घरभरि रुवाबास ।

उसको मट्टीतेल किन्ने पैसाको अभावमा टुक्कीले एक कुनामा बिश्राम लिएको थियो । उसको स्वास्नी सुकमाया एउटा छ महिनासम्म ओछ्यानमा सुतेर संसारदेखि विदा भई । मृत्युशैयामा दिन गन्दै । नैराश्य जीवनको अन्तिम घडीसम्म पीडाको आगोमा तडपिरहिन ।

कथाकार

विगत तीन दिन देखि झिमिक्क गर्न नपाएको सूर्यबहादुरको अश्रुमा डुबेका रक्तिम आँखाले आमा गुमाएका,आमाको लासको छेउ बसेका छोराछोरीको क्रन्दन छामिरहेकोछ । कैयन दिनदेखि चारो नपरेको पेटमा आन्द्राहरु छटपटाएकाछन् । सुक्खा मुखमा चिनी पनि तीतो लाग्ने भएकोछ । भोकलाई निद्राले शमन गर्ने वानीले गर्दा अल्सरको शिकार भएकी थिइन् उसको स्वास्नी ।

विगत

उसको प्राणप्यारी सुकमायालाई अल्सरको अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भनेकोले स्वास्नीको उपचार र अप्रेसन सहयोगको लागि भनेर पार्टी र पार्टीका नेताका भव्य गगनचुम्बी महलहरुमा याची हात फैलाउदै धाएको पनि उत्तिनै दिन व्यतीत भईसक्यो ,जति दिन उनीहरुले हुन्छ भनेर आश्वासनको लहरोमा झुण्डाइरहेका थिए, बिचरा सूर्यवहादुरलाई ।

पार्टीको झोला बोकेर हिड्दा हिड्दा जुत्ताको तलुवा त कति फाटे फाटे,पुख्र्यौली सम्पत्तिबाट अंशमा पाएको अलिकति जग्गा आर्थिक अभाव र साहुले थोपरेको चक्रबृद्धि व्याजे ऋणभारले गर्दा तीन कट्ठा मात्र बांकी राखेर बिक्री गरेपछि सुकमायाको खनीखोस्री गर्ने काम घटेको थियो । खाने पेटहरु बढेका थिए आफूबाट अस्तित्वमा आएका माया,ममताका सागर दुई मुना । उनीहरुको भोक तृप्त गर्न आफनो पेटलाई बन्धकी राख्थी ऊ । जमिन विक्रीबाट बचेको पैसाले केहीदिन भरपेट खाएपनि बाकी दिनहरुमा भोेकको कीराले उसलाई चिमोटिइरहन्थ्यो । परिणाम, अल्सर जस्तो भयानक रोगले उसमाथि चढाई गरेको थियो,अर्थाभावले अँचेट्दा, लाग्नेको अनुपस्थितिमा सुकमायालाई ।

बिहे पश्चात एउटा छोरो पाए लगत्तै लोग्ने भूमिगत भएपछि पच्चीस बर्षे सुकमायाको जीवनकाल अत्यन्त भयावह र कष्टपूर्ण रह्यो । नेतृत्वको आदेश पालना गर्न लोग्ने कठोर भूमिगत हुँदा उनलाई दया र बिवेक दुबै गुमाएका सुरक्षाकर्मीहरुबाट दुइतीन दिनको अनतरालमा हुने उपस्थितिमा गोली र बोलीले मुटु हल्लिने त्रासमात्र हैन, एक दुई पटक त विवेक हरामी नरराक्षसहरुबाट बलात्कारको शिकार पनि हुन परेको थियो,उसले ।

सो कुरा कमरेड आलोक,समयको सीमित घेरा भित्र त्रासदीको घुम्टो ओढेर,पुच्छर टांगमुनी घुसारेको कुकुर झैं लुसुक्क घर आएको बेला उनको हृदयमा पीडाका आँशुले भरिएका गाग्रो घोप्टाएर सप्पै देखाउदा, पति आलोकले एकातिर उसको रौद्रता उम्लिएर प्रतिशोधको ज्वाला मनमा नदन्किएको हैन, यद्यपी तत्कालीन असम्भाव्यताले उसलाई धैर्यतातर्फ उन्मुख गराएकोले मुटुलाई ढुङ्गा बनाउदै आफनी प्रेमप्यारी अर्धाङ्गिनीको हृदयको गाग्रोबाट पोखिएको आँशुलाई हृदयमै थुनथान पार्दै भन्यो–

“क्रान्तिको समयमा कहिलेकांही यस्तो पनि हुदो रहेछ , के गर्ने प्यारी तेरो गल्ती हैन त्यो पीडालाई ढुंगा बनाउनु प¥यो अब । क्रोधको ज्वालालाई आंसुले निभाउन प¥यो , के गरौँ ? सकियो भने बदला अवश्य लिउंला । यो भन्दा अर्को विकल्प केछ र अहिलेलाई ? यस्तो अवस्थामा घटेको दुर्घटनामा मैले तलाई त्याग्ने कुरा भएन । तँं आफैले बिराएको भए पो । हुन दे” भनेर ढाढसले गाला मुसारिदिएको थियो,सूर्यबहादुर उर्फ आलोकले ।

उपचारको ढिलाइले गर्दा सुकमायाको अवस्था दिनानुदिन गम्भीर बन्दै गइरहेको थियो । क्षीर्ण बन्दै गैरहेको थियो,सुडोलबाट कृशकायामा परिणत भएको शरीर । सन्तान र पतिको मायाले अल्झाएका थिए,उसका प्राण पखेरुहरुलाई ।

विचरा सूर्यबहादुरले घरमूलीको नाताले निभाउनु पर्ने परिवारप्रतिको पालन पोषण ,शिक्षा,दीक्षादि उत्तरदायित्वलाई पन्छाएर देशको काया फेरिन सक्छ, जनताको जीवन फेरिनसक्छ भन्ने नेताहरुको आह्वानलाई आत्मसात गर्दै क्रान्तिमा होमिएको थियो, जीवन संकल्प र आत्मा समर्पित भएर ।

सतहमा देखिएको पनि थियो, बोलीखाने,गराइखाने,गरीब श्रमिकको रगत,हाड चुस्ने शोषक र पूँजीपतिको स्वेच्छाचारिता । त्यसैले उनका हातमा रहेको राज्यसत्ताको साँचो गरीखाने गरीब मजदुर, किसानको संगठित पार्टीको हातमा परेको खण्डमा आफ्नो जीवनकालमा नभए पनि नयाँ सन्ततीहरुले सुविधापूर्वक नागरिक अधिकार उपयोग गर्न पाउलान्,निःशुल्क गास,बास,कपास,स्वास्थ्य,शिक्षा, न्याय र समानताको खुला मैदानमा हाँसी खुशी उन्नति गर्न पाउलान् । देशले काँचुली फेर्ला,विकासको पाइलो पछ्याएर । उँभो लागेर काया फेर्न सकोस् । यही भनेर जीवन उत्सर्ग गरेर नेताहरुको भाषणको पछि लागेको थियो,आलोक । राज्यको भूमिमा श्रमिकको रगत पसिनामा “कसैलाई मनपरि,कसैलाई भोकमरी”को संस्कतिको अन्त्य होस भन्ने कामना थियो,उसको । कमसेकम—बाँचे सन्तोषको बास,मरे शहीदको इतिहास—भनेर लागेको थियो ,असहज जोखिम बाटोमा ऊ ।

पार्टी काममा हिड्दा, घरको खेती किसानी थाँति राखेको थियो,उसले । आफ्ना मुटुका ढुकढुकी परिवारलाई थाति राखेको थियो,उसले ।

जब उसले पार्टीको सदस्य बन्यो, तबदेखि खबर पाउनासाथ पार्टीको हरेक काममा झोला बोकेर हिडिहाल्थ्यो आलोक । निरन्तर । पार्टीले जनयुद्धको बाटो रोजेको भूमिगत अवस्था । जीवनलाई खुकुरीको धारमा राखेर र परिवारलाई त्रासदिको चौघेरामा पारी पूर्णकालीन पार्टी काममा लागेको थियो सूर्यबहादुर,आलोक बनेर । त्यस कालमा ऊ पार्टीको तल्लो स्तरको कमाण्डर भए पनि कार्यभार अलि गहकिलै थियो अर्थ संकलन पनि । पार्टीका केन्द्रदेखि वीचका कमाण्डरहरुले जारी गरेको आग्रह तथा धम्कीपत्र बोकेर परिवारको छातिमा कुल्चिदै मुटुलाई चट्टान बनाउदै त्रासदीको भीरमा टेक्दै पार्टीको थोक्रो झोला भिरेर सहरतिर लाग्थ्यो,सामान्य देखि असामान्य धनकुबेरहरुको महलहरुमा । जुङा दारीले ढाकिएको जोगी भेषमा । कमाण्डरले हस्ताक्षर पत्र बोकेर ।

यस क्रममा शहरभित्र पस्दा अधिकांशतः धनकुबेरहरु पार्टीलाई नै प्रयोग गर्ने,पार्टीकै पार्टनरसिप,पार्टीलाई विभिन्न सामान सप्लाई गरेर मनग्ये आर्जन गर्ने ठेकेदारहरु रहेछन्,सरकारको आँखा छल्न सक्ने साहसी । मानौं पार्टीेकै सहयोगमा अर्थको शिखर चढेका रहेछन् । जङ्गलमा भूमिगत क्रान्तिकारी सशस्त्र पार्टी सञ्चालन गर्न आर्थिकको पर्याप्त आवश्यकता त पथ्र्यो नै । त्यसको लागि अरुबाट उठाएको पैसालाई आय आर्जन हुने व्यवसायिक काममा पनि परिचालन गर्नुपर्ने भएकोले पार्टीले ती पुराना र नयाँ धनाढ्यहरु पार्टीको प्रयोगमा हुँदा रहेछन् । उसका चतुर साथीअरुले जन साधारण र धनकुबेरहरुबाट उठेका रकम मध्ये केही मात्र पार्टी हेडक्वार्टर र जिल्लाको लागि बुझाएर बाँकी आफै अपचलन गरेर शहरमा महल ठडाउने गरेका रहेछन् । अर्थ संकलक पार्टीका कार्यकता कसैले पूरै लिएर भाग्ने गरेको पनि आलोकलाई जानकारी भए तापनि उसले सेल्टरमा पुगेपछि आफूले उठाएको जति सबै हिसाव गरेर जिल्ला कमाण्डरलाई बुझाउने गथ्र्यो । यसरी पार्टीको नाममा जनताबाट जबरजस्ती उठाएको सम्पत्तिबाट अथाह मान्छेहरु रातारात धनकुबेर बनेका हुँदारहेछन् । यो पनि उसलाई थाहा थियो । तर ऊ निष्ठा,इमानदारिता र अनुशासनको सिद्धान्तबाट विचलित भएन । राजनीतिमा इमानदारिता,विश्वसनीयता,जवाफदेहीता हुनुपर्छ देश र जनताको लागि । बेइमानी र फोहोरी राजनीति देश र जनतामाथि नै धोका हो । साधा जीवन उच्च विचारको सिद्धान्तवादी ऊ समय सापेक्ष चल्न चाहन्थेन । किनकी समयलाई,राजनीतिलाई स्वार्थी चाटुकारीहरुले आफनो अनुकुल हुने गरी उल्टो दिशातिर घुमाइरहेका थिए ।

पार्टीको काममा लामै जिन्दगी अर्पण ग¥यो,आलोकले । तर पार्टीले छरेको कनिका बाहेक उसले आफूलाई केही राखेन । जहिले पनि इमानदारिता निभाउदै रह्यो, पार्टी बनोस देश बनाओस भनेर । यसैले उसलाई आफनो स्वार्थ अनुकुल प्रयोग गरि रहेका थिए, हाइहाई गरेर ऊ भन्दा माथिका नेताहरुले । “बोल्नेको ढुटो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने”को छायाँले उसलाई पछ्याइरह्यो । उसले सोचे जस्तो समपर्णताको मूल्यांकन गर्ने र भित्र दुःखेको घाउको पीडा बुझने नेताहरु बालुवामा सुन खोजे जस्तै भयो,उसको लागि । मान्छेको लासमाथि चढेर शिखर पुग्ने धोको बोकेका उच्च स्तरका नेताहरुको बथानमा मर्म बुझने,व्यथित हृदयमा मलम लाइदिने मान्छे कोही भेटेन,उसले । यद्यपी भेट पाए पनि सकस परेको बेलामा उसको व्यथित हृदयमा मलम लाइदिने कोही भएन ।

पार्टी बनवासबाट घरवासमा स¥यो । जनतालाई सुनाएको,सुङाएको,देखाएको समाजबाद र सत्ययुगिन साम्यवादको लड्डु अधुरै छोडेर । हाइकमाण्डका नेताहरु संसदीय सत्ताको शिखर चढ्न पाएकोमा साधना सफल भएको गर्व र उमङ्गमा रमाएका थिए । कार्यकर्ताहरु तीन विचारमा विभक्त भए । कोही लुटमल्लहरु आमदानीको श्रोतमा ह्रास आउने चिन्तामा । केही नगण्य नेताहरु गन्तव्यमा नपुगेर वीचैमा छोडेकोमा देश र जनतालाई धोका हुन गएको आत्म ल्गानीमा । कोही उन्मुक्तिपुर्वक नेताहरुको पछि लागेर स्वार्थ लुट्न पाएकोमा मक्ख । सूर्यबहादुर उर्फ आलोक पनि आफ्नो दिमागमा घुसाएर आफूद्वारा अरुलाई बाँडिएका समाजवादका मन्त्रणा अधुरै रहेकोमा आत्मल्गानी । तर जे जसो भए पनि त्रासदीको बन्धनबाट उन्मुक्त मनस्थितिमा परिवारहरुसंग ढुक्कसाथ बस्न पाएकोमा सन्तोषको सास फेरिरहेको थियो ।

पार्टीको राजनीतिक परिदृश्य परिवतर्वन भएपछि नेताहरुको जीवनशैलीमा आमूल परिवर्तन आयो अकस्मात । पहिले भन्ने गरेको “साधा जीवन उच्च आदर्श”उल्टिएर स्खलित भएर “उच्च जीवन साधा विचार”को आदर्श बन्न पुग्यो, छोटै समयमा,उनीहरुको ।

कथित आदर्शको डोरीमा झुण्डिएका आंशिक कालीन कैेयन कार्यकर्ताहरु चिनी रित्तिएको भाँडोमा भन्किएको माखा जस्तै भएका थिए,निरर्थक जीवन ।

सूर्यबहादुर, पार्टीले टाँसेको “आलोक”छद्य नाम फुकालेर घरमा आउँदा औषधीले थामथुम पारेकी विचरी उसकी प्राणप्यारी श्रीमती सुकमाया, रोगले ग्रसित भई परिवार र स्वार्थी संसारदेखि बिदा हुने तयारीमा रहिछ ।

उसले स्वास्नीको उपचार सहयोगको लागि “सम्पूर्ण पार्टी एक परिवार” भन्ने देखाउने दाँतको पछाडि विश्वास गरेर झण्डै दशकौंं जीवन लगानी गरेको घरका मूलीहरुकाँ याची हात पसारेर महल महलमा धाउँदा धाउँदा आश्वासनको रित्तो मुख सिवाय अरु केही नपाएपछि र मानिसको जीवनको मूल्य नबुझने द्रव्यराक्षस अस्पतालहरु,स्वास्थ्य,शिक्षा निःशुल्क,मुलुकमा कोही भोका नाङ्गा नहुने,न्यायबाट कोही विमुख नहुने,समृद्ध देशको उत्कृष्ट समाजबाद लागु गरिनेछ भनेर रातो झण्डा देखाउनेहरुको सडेको भित्री दाँत देखेपछि विचरा सूर्यबहादुरको नैराश्यता छातिमा नराम्रोसंग गढेपछि फर्किएर घर आयो ।

निःशुल्क उपचारको लागि नेताहरुले अस्पताललाई आदेश गरेको ढोङ्ग गरे तापनि कसैको कुरा पनि नसुन्ने,सेवाभाव पनि नभएको अकर्मण्य द्रव्यलुप्त अस्पतालबाट पनि नैराश्यताको थप्पड बोकेर फर्कियो । विचरी सुकमायाको नश्वर जीवन समाप्त भयो । वियोगी सूर्यबहादुरको आशा,माया,अनुराग,रोदन र सन्तानको रोदनको केही लागेन,मृत्युको अगाडि । सत्ताइस बर्षकी तरुणी सुकमाया धर्तिबाट विदा भई,परिवारलाई रुवाएर,राजनीतिलाई चुनौति दिदै गई । मृत्यु परान्त उसको लासमा पार्टीले पार्टीको झण्डा ओडाउन तम्स्यो । आलोक छद्य नाम फुकालिसकेको सूर्यबहादुरले झण्डा च्यातचुत पारेर फालिदियो ।

 

 

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ११ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि