७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मेलम्ची आयोजना बन्यो बगर, तत्काल पानी ल्याउन असम्भव



काठमाडौं । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।

असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु पर्यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।”

असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, “हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।

उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षातमै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।

हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।

हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।

बाढीले आयोजनाको सुरुङमा भने क्षति पुर्याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै