१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

पुनर्वासको पर्खाइमा मनाङ तालगाउँका बाढीपीडित



मनाङ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले ताल गाउँ पूरै बगर भएपछि स्थानीयवासी गाउँमाथिको डाँडामा विस्थापित भएका छन् ।

बाढीका कारण सो गाउँका ५९ घरपपिरवार पूर्णरूपमा विस्थापित भएका छन् । मरुभूमि बनेको गाउँ हेर्दै ताल गाउँका बासिन्दा पुनर्वास कहिले होला भन्दै बस्न बाध्य भएका छन् । बगर बनेको स्थानमा बस्ती बसाल्न सुरक्षित छैन । बाढीले गाउँ नै बगर बनेपछि पुनर्वासको आशामा बस्दा बस्दै आशा निराशामा परिणत हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको स्थानीयवासी मोहन गुरुङ बताउँछन् ।

“डेढ महिना बढी भइसक्यो त्रिपालमा बस्दै गाउँ हेर्दै बस्न बाध्य छौँ, कहिले पुनर्वास होला भन्ने आशामा छौँ, अहिले गाउँ नै पूरै डुबानमा छ, कहिले आरामका साथ घरमा बस्न पाइन्छ भन्दै सोचेर समय बिताइरहेका छौँ”, मोहनले भने । डाँडामा पनि बस्ती बस्ने उपयुक्त ठाउँ नहुँदा अझै चिन्ता थपिएको उनी बताउँछन् । ताल गाउँ अझै पनि मस्र्याङ्दी नदीको बाढीको डुबानमा छ । दिनभर मस्र्याङ्दी नदीको डुबानमा रहेको गाउँ हेरेर बिताइरहेको कान्छीमाया गुरुङ बताउँछिन्

“यत्रो वर्षसम्म मस्र्याङ्दीमा गाउँ डुबान परेको थाहा पाएका थिएनौँ, यस वर्ष नदीमा आएको बाढीले गाउँ नै बगर बनायो, त्यहाँ बस्ती बसाउन सक्ने अवस्था नै छैन, अब कहाँ बस्ने भन्ने चिन्ता लाग्छ, पूरै विस्थापित भएका यहाँका बासिन्दाका लागि सरकारले नै व्यवस्था गरिदिए हुने थियो भन्ने लाग्छ”, कान्छीमाया भन्छिन् ।

ताल गाउँमा पुनः बस्ती बसाउन सक्ने सम्भावना न्यून छ । यस कारणले पनि सरकारले गाउँवासीलाई अन्य कुनै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने स्थानीयवासीको माग छ । बाढी प्रभावित ताल गाउँका बासिन्दा डेढ महिनादेखि त्रिपालको बासमा छन् । बाढी प्रभावितका लागि व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थामार्फत खाद्यान्न प्राप्त भए पनि सरकारबाट भने कुनै पहल नभएको उनीहरूको गुनासो छ ।

गाउँपालिका नै पूर्णरूपमा बाढीपहिरा प्रभावित भएकाले तालवासीलाई आवश्यकताअनुसारको सहयोग गर्न नसकेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “पालिकावासीलाई दुःख परेको अवस्थामा गर्नुपर्ने जति सहयोग गर्न सकिएको छैन, गाउँपालिकाको प्रशासकीय भवन नै बाढीले बगाएपछि छिमेकी जिल्ला लमजुङमा अस्थायी कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छौँ, विस्थापित बाढी प्रभावितको स्थानान्तरणका लागि प्रदेश सरकार र सङ्घ सरकारसँग सहयोगको समन्वय गरिरहेका छौँ”, अध्यक्ष घलेले भने ।

प्रदेश सरकार र सङ्घ सरकारबाट छिट्टै सहयोग हुने अपेक्षा गरेको उनले बताए । गाउँवासीको पीडा देख्दा आफैँलाई धेरै दुःख लाग्ने गरेको उनी बताउँछन् । मनसुन शुरु भएसँगै परेको अविरल वर्षाले मनाङ जिल्ला बाढीपहिराको डुबानको चपेटामा परेको हो । ताल गाउँमात्रै होइन मनाङ जिल्लाका धेरै बस्ती बसेको स्थानमा पुनः बस्ती बसाल्न सक्ने अवस्था छैन । जिल्लामा लगातार परेको वर्षाका कारण हाल यहाँको जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ । अविरल वर्षासँगै आएको बाढीपहिराले भौतिक तथा व्यक्तिगत संरचनामा पु¥याउँदा अर्बौंको क्षति भएको छ ।

मनाङको भौतिक क्षतिका कारण आर्थिकस्तर पूर्णरूपमा ध्वस्त भएको छ । मुख्य आयस्रोत पर्यटन व्यवसाय भएको मनाङमा कोभिडले गर्दा पर्यटकीय क्षेत्रमा आर्थिक मन्दी लागेको अवस्थामा बाढीपहिराले क्षति पु¥याएपछि यतिबेला मनाङवासी अझ बढी मर्कामा परेका छन् । सरकारले चासोका साथ समयमा सहयोग गर्न सके आर्थिक अवस्था सुधार्नसमेत टेवा पुग्ने उनीहरुको अपेक्षा छ ।

रासस

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : ३६ बजे

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा

हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा-ढल्केवर-दुहवी

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को

नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य