१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती



रोल्पा । वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् ।

पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने सुनछहरी गाउँपालिका-४ स्युरीका हर्क घर्तीमगरले बताए ।

“बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेका छन्”, उनले भने । सुलिचौरमा रहेका बैंक, अस्पताल, खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको स्थानीयवासीको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको उनीहरुको गुनासो छ ।

जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या छ । शहीदमार्गको ट्र्याक खुला भएको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् । यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ ।

वर्षातको समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अर्का चालक लीला घर्तीमगरको भनाइ छ । शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडकखण्डमा दिनहुँ सयौँको सङ्ख्यामा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन लामो तथा छोटो दूरीमा चल्ने गरेका छन् ।

शहीदमार्ग दाङबाट सुरु भई जिल्लाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थवाङ गाउँपालिकाको थवाङ हुँदै रुकुमपूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।

सो सडकमा वर्षात्का समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि त्यस अगाडि भने बाटो अवरुद्ध हुने गर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हुँदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन् । घर्तीगाउँबाट ४८ किलोमिटर दूरीमा रहेको थवाङ सडक वर्षात्का समयमा बन्द हुँदा स्थानीयवासी घण्टौँ लगाएर पैदलयात्रा गर्ने गर्दछन् । शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ ।

जिल्लाको पूर्व र पश्चिम जोड्ने रामपुर कपुरकोट सडकखण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा, माटो र सडक मुनिबाट जाने पहिराले सडकलाई प्रभावित गर्ने गर्दछ । रामपुर कपुरकोट सडकखण्ड प्यूठानबाट सुरु भएर रोल्पाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यानसम्म पुगेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ८ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद