१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आज काग अष्टमी मनाइँदै, कागेश्वरीमा मेला



काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमाकागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका-१ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।

मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले राससलाई जानकारी दिए । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले बताए ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरसमेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ र नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनसमेतको प्रदर्शन गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्पलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : १४ बजे

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको