२५ माघ २०८२, आइतबार | February 9, 2026

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या



गलेश्वर । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् ।

जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।

गत भदौ पहिलो सातादेखि सुरुआत भएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिइन्।

चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू-सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताए ।

चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन  । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले भनिन्, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”

झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताइन्। उनका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।

आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताए ।

बागलुङ, पर्वत र कास्कीमासमेत सेतो पुतली बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा देखापर्ने पुतलीको बाक्लो झुण्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् ।

सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको मेडिकल डाइरेक्टर डा श्रेष्ठले जानकारी दिइन् ।

कसरी हुन्छ सङ्क्रमण ?

चिकित्सकका अनुसार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेमा सापुको सङ्क्रमण फैलिन सक्छ । सङ्क्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने, आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्नसक्ने बताइएको छ ।

बेनी आँखा उपचार केन्द्रका चिकित्सक बानियाँका अनुसार प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले धेरै छिटो असर गर्ने गर्छ । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।

झुसबाट बच्नका लागि भरसक सेतो पुतली भएको ठाउँमा नजान, जानै परे चस्मा लगाउन र आफू बसेको ठाउँमा पुतली आए सजग हुन र हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा साबुन पानीले हात धुन चिकित्सकको सुझाव छ । यसैगरी सुत्ने बेलामा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न सक्ने हो भने झुस समस्याबाट बच्न सकिने जनाइएको छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ५० बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय