१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

गाउँमै पस्यो मुटुरोग



चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । उनले भने, “चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।” सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउँछन् । । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउँछन् ।

“पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ”, उनले भने “युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।” ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउँछन् । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । डा. ओममूर्तिले भने “कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ”, उहाँले भन्नुभयो, “रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।” रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।”

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७।९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन्। विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, “मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।” विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उनले बाए । मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो ।

उनले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने बताए । शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान उनले सुझाव दिए । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।” उने समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिए। अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : २९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन