२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भीड थामिनसक्नु, भाउ छोइनसक्नु



काठमाडौं । नेपालीको महान चाड दसैं भोलि सुरु हुँदै छ । दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ ।

यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन् । तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ । बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ्ने गरेको छ ।

‘दसैंमा अरू बेलाभन्दा बढी पैसा खर्च हुन्छ । ऋणधन गरेर भए पनि यो पर्व मनाउने चलन छ’, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन्, ‘खर्च बढी हुँदा केही वस्तुको माग पनि बढी नै हुन्छ । वस्तु त त्यही हो बजारमा आउने। अनि, व्यवसायीले उपभोक्तासँग बढी पैसा आएको छ भनेर भाउ बढाउने गर्छन् ।’

डा. नेपालका अनुसार यो बेला बजार–भाउ ३ सयदेखि ४ सय प्रतिशतसम्म बढ्ने गरेको छ । तर, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले २० प्रतिशतभन्दा बढी लिन नहुने व्यवस्था गरेको छ । यसविरुद्ध कार्य गरे कानुनी कारबाही भोग्नुपर्ने हुन्छ । ऐनको दफा ३ (१) मा लेखिएको छ- ‘(१) दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतयाः सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।’ तर, व्यावसायिक घरानाको हस्तक्षेप, फितलो अनुगमन, समान वितरण नहुनुजस्ता कारणले मूल्यवृद्धि नियन्त्रणबाहिर रहेको अर्थविद् बताउँछन् ।

पूर्वगभर्नर डा. नेपाल हामीकहाँ उपभोक्ता सचेतना शून्य प्रायः रहेको बताउँछन् । ‘सरकारले बजार भाउ नियन्त्रण गर्न सक्दैन’, उनी भन्छन्, ‘उपभोक्ताले किनिरहेका हुन्छन् । कोही-केही बोल्दैनन् । बोल्नेबित्तिकै ऊ एक्लो हुन्छ। केही व्यापारीले कालोबजारी गर्छन् ।’

बजारभाउ निर्धारण उत्पादनकर्ता र पैठारीकर्ताको हातमा हुने भएकाले सरकारले हस्तक्षेप गर्न नसक्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उपभोक्ता ठगी, कालोबजारीजस्ता विषयमा विभागको अनुगमन नपर्ने प्रवक्ता सेढाईंको भनाइ छ ।

‘उपभोक्ता ठगी प्रहरीले हेर्छ भने कालोबजारी जिल्ला प्रशासन कार्यालयले’, सेढाईं भन्छन्, ‘विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारी क्रियाकलापको मात्र अनुगमन गर्छ ।’

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पहिलो महिनाकै तथ्यांकले तरकारी, तेल, गेडागुडीको मूल्य बढेकोे देखाएको छ । अघिल्लो वर्षको तुलनामा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) बढेर ४.३५ प्रतिशत पुगेको छ। यो गत वर्ष सोही अवधिमा ३.४९ प्रतिशत थियो ।

खाद्य वस्तुको होलसेल मूल्य अकासिएको छ । नेपाल खुद्रा व्यापार संघको भदौसम्मको तथ्यांकले वार्षिक मूल्यवृद्धि भएको देखाएको छ । तथ्यांकअनुसार तेलमै वार्षिक प्रतिलिटर ९० रुपैयाँसम्म बढेको छ । गेडागुडीमा वार्षिक १० देखि ४० रुपैयाँसम्म मूल्य बढेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदी/सुनिता कार्की/ममता थापाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ३७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा