१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेकपा एमाले अब केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सबै सरकार गुमाएको छ । प्रदेश १ मा रहेको प्रदेश सरकार सोमबार गुमाएसँगै सबैभन्दा ठूलो दल एमाले केन्द्रदेखि प्रदेशसम्म सत्तापक्षबाट अब प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ ।

एमाले सचिवसमेत रहेका भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् । विश्वासको मत लिनुभन्दा अघि प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । १० भदौमा आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री रहेका बेला उनलाई राजीनामा गराई आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको थियो । प्रदेश १ मा एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । पाँच दलीय गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न लागेका हुन् ।

गत बुधबार एमाले उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएका थिइन् । २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य अघि बाग्मती प्रदेशमा एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री थिए । पार्टी विभाजनको बेला पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको थियो । बाग्मती प्रदेशमा पनि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री भइसकेका छन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपश्चात् लुम्बिनी र गण्डकीमा एमालेले सरकार गुमाएको हो । एमालेको स्पष्ट बहुमत रहेको प्रदेश १ र बाग्मती प्रदेशमा पार्टी विभाजनपश्चात् एमालेले सरकार गुमाउनुपर्यो ।

२०७४ सालको आमनिर्वाचनमा प्रदेश १ र बाग्मती दुवैमा एमालेले एकल बहुमत प्राप्त गरेको थियो । तर ९ भदौमा एमाले औपचारिक रूपमा विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि दुवै प्रदेशमा बहुमत गुमाएको हो ।

२०७४ सालको आमनिर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धनले संघीय प्रतिनिधिसभामा करिब दुई तिहाइ र सातमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । चुनावपछि कर्णाली र सुदूरपश्चिम दुई प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको थियो । चुनावी गठबन्धन सुरु गर्दा एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको थियो । तर, सर्वोच्च अदालतको फैसलासँगै नेकपा विभाजित भयो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसमेत पार्टीले गुमायो ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले सबै सरकारबाट पार्टी बाहिरिनु पार्टीका लागि पाठ भएको बताए । पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अगामी चुनावको तयारीमा एमाले लागेको उनले बताए । अगामी चुनावबाट एमाले एकल बहुमतसहित संघ र प्रदेशहरूको सरकारको नेतृत्व गर्ने दाबी उनले गरे ।

गण्डकीमा गुरुङ मुख्यमन्त्री थिए भने एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार मात्रै नभएर ओलीनिकटका विश्वाशिला पात्र मुख्यमन्त्री थिए । तर, ओलीले पार्टीभित्रको एकता मजबुत बनाउन नसकेका कारण एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा आउनुपरेको एमालेका नेताहरू बताउँछन् ।

अध्यक्ष ओली झन्डै दुई तिहाइ बहुमतसहित संघीय सरकारको नेतृत्व गरिरहेको तर एमाले अहिले उनकै कारण सडकमा पुगेको तेस्रो धारका एक नेताले बताए । सत्ताबाट अहिले एमाले सडकसम्म पुग्नुमा एमाले अध्यक्ष ओलीको दम्भ र घमण्ड नै प्रमुख कारण रहेको तेस्रो धारका ती नेताले बताए ।

‘नेकपा हुँदा संघीय सरकारका साथै सातमध्ये ६ वटा प्रदेश सरकार नेकपाको थियो । नेकपाको अध्यक्षको नाताले संघीय सरकारदेखि प्रदेश सरकारसम्म ओलीको हालीमुहाली राम्रै थियो । चारवटा प्रदेशमा ओलीका एसम्यान नै मुख्यमन्त्री थिए । दुईवटा प्रदेशमा एसम्यान मुख्यमन्त्री नभए पनि ओलीको निर्देशन लागू हुन्थ्यो । अध्यक्षको दम्भ र घमण्डले अहिले उनी मात्र नभई एमाले नै सडकमा पुग्यो’ एमाले तेस्रो धारका ती नेताले भने ।

ओलीले संघीय र प्रदेश सरकार मात्रै गुमाएको छैन । ओली सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूत फिर्ता भइसकेका छन् । ओली सरकारको समयमा संवैधानिक परिषद्को बैठकद्वारा विभिन्न ठाउँमा नियुक्ति पाएकाहरूको नियुक्तिसमेत खारेज हुने भएको छ ।

एमाले नेता कर्ण थापाले कम्युनिस्ट भन्न मन पराउने तर, कम्युनिस्ट नेतृत्वको सरकार मन नपराउने नेताहरूका कारण अहिले देश र जनताको अवस्था गम्भीर अवस्थामा पुगेको बताउँछन् । अगामी निर्वाचनबाट एमालेको एकल बहुमत आउने दाबी गर्दै उनले देश परमादेशबाट नभई जनादेशबाट अगाडि बढने बताए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : १८ बजे

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका