१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेकपा विवाद : अहंकारले हुर्काएको शक्ति संघर्ष



काठमाडौं । शीर्ष नेहरुबीच अभूतपूर्व विवाद र शिर्ष नेताका गुटबाट एक अर्कोप्रति घृणात्मक लान्छनाको लामो श्रृंखलापछि अन्ततः नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेतृत्वबीच एकअर्कालाई घोचपेच र व्यङ्ग्य प्रहार भयो ।

सचिवालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा हुनुहुन्छ । आफुलाई साथदिने सचिवालय सदस्यहरु एक दुई जना मात्र भएपछि ओली निश्चित रुपमा प्रतिरक्षात्मक हुनुहुन्छ । तर, राजनीतिका माहिर खेलाडी ओलीले आफ्ना विरोधीहरुलाई तह लगाउने अनेकौं तुरुप हरबखत साथमै राख्नुहुन्छ । ओलीले बुधबारको बैठकमा पनि यो तुरुप फ्याँक्नुभयो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग्न थालिएको अवस्थामा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याँके पछि उनको विरोधमा मोर्चा कसेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपालहरु आश्चर्यचकित नबन्ने कुरै भएन । वामदेव गौतम ओलीबाट अबको प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्तावित भएपछि उद्देलित नबन्ने कुरै भएन ।

नेतृत्वको इखका बीच सुरु भएको सचिवालय बैठक वामदेव फण्डापछि अलमलमा पर्दै पुनः बैशाख २० मा बस्ने गरी स्थगित भयो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको सार दुनियाँलाई बताउनैपर्ने थियो । सडकमा तीनघण्टादेखि कुरिरहेका संचारकर्मीमाझ प्रवक्ता श्रेष्ठले बैठकका केही अंशलाई भाषा मिलाएर प्रस्तुत गर्नुभयो । त्यसैअनुसार समाचारका हेडलाईन बने । तर बैठक सकिएको दुई घण्टाकै बीचमा फेरि बैठकभित्रको खास दृष्टान्त सार्वजनिक भयो सचिवालय सदस्यहरुमार्फत नै ।

बालुवाटार बैठकको अन्तर्यले भनिरहेको छ, शिर्ष नेतृत्वबीच सहमति त्यति सहज छैन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आफ्ना दुबै पद सुरक्षित गर्नुछ । पाँचवर्षसम्म प्रधानमन्त्री पदमा दाबी नगर्ने सार्वजनिक वाचा गरिसकेका अध्यक्ष प्रचण्डका लागि आफु कार्यकारी अध्यक्षमा सुरक्षित बनिरहनुपरेको छ । नेता माधवकुमार नेपाललाई यतिबेला पार्टीको निर्णायक शक्ति आफै हुम भन्ने परेको छ । यसकारण, ओलीलाई ठेगान लगाउने, प्रचण्डलाई साइजमा राख्ने र अधिकतम अवसर प्राप्त गर्ने मौका यही हो भन्ने परेको छ । झलनाथ खनाललाई आगामी राष्ट्रपति पदको सुरक्षण अहिल्यै चाहिएको छ । वामदेव गौतमलाई त चुनाव हारै पनि प्रधानमन्त्री पद नभै भएको छैन । राजनीतिक करिअर अझै बाँकी रहेका अन्य सचिवालय सदस्यहरुलाई पनि आफ्नो स्थान सुरक्षित गर्नु नै छ ।

नेताहरुबीच इगो, अहंकार र व्यक्तिवादी चरित्रका कारण नेकपाको लेनिनवादी संगठनात्मक संरचना समाप्त भएको छ । गुटहरु सक्रिय बनाइएका छन् । कुल योग, नेकपा भित्रको शक्ति संघर्ष यस्तो अवस्थामा प्रवेश गरेको छ, जहाँबाट सजिलै फर्किने ठाउँ देखिदैन । फर्किन त्यतिबेला मात्र सम्भव छ, जतिबेला गुट र चाटुककारीताबाट फुत्किएर शिर्ष नेतृत्व वास्तविक धरातलमा आउँछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपालबीचको विवाद अहिले सडकमा पोखिए पनि विवादको जड भने गत केन्द्रीय कमिटी बैठकपछि सुरु भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको समझदारीमा चलेको पार्टी एवं सरकारका गतिविधिमा केन्द्रीय कमिटी बैठकपछि प्रचण्ड हावी जस्तो देखिएपछि ओली समुहले मदन भण्डारी फाउन्डेशनको ब्यानरमा गुट बैठक र भेलाहरु गर्दै आएको थियो ।

प्रधानमन्त्री ओली एवं सरकारका गतिविधि ओली विरोधी नेताहरुले भैंसेपाटी गठबन्धन बनाएर तर्साउने काम गरेकै हुन् । एक अर्कालाई अस्वीकार जस्तै गर्दै जाँदा पार्टी नै संयुक्त मोर्चा जस्तो बन्न पुगेको छ ।

सक्रिय हुनुपर्ने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही हो । तर, सक्रियत छन् बालुवाटार, खुमलटार, भैसेपाटी र कोटेश्वर । शिर्ष नेताहरुको स्वार्थ र इगोका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै एकता चाहने नेता कार्यकर्ताहरु चिन्तित बनेका छन् ।

अध्यादेश प्रकरणपछि सडकमा रमिता सुरु भएको नेकपाको विवादले नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई प्रभावित मात्र बनाएको छैन, यो विवादले देशभित्रका र बाहिरका शक्तिकेन्द्रलाई पनि तरङ्गित बनाएको छ ।

सचिवालय बैठकको भोलिपल्ट बिहीबार नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुक मार्फत छरपस्ट भएर छिरलिएको छलफल सचिवालय बैठकमार्फत घरभित्र प्रवेश गरेको भन्दै अब त्यतातिरै छलफल गर्न आग्रह गर्छनुभएको छ। भट्टराई भन्नुहुन्छ, ‘बजार बन्द छ पसल पसल नडुलौं । संवाद् संवाद् र फेरि पनि संवाद ।’

अवश्य पनि लोकलज्जा हुनेगरी देखिएको नेकपा भित्रको भाँडभैलो सचिवालयका नाममा बालुवाटारभित्र त प्रवेश गरेको छ, तर, सचिवालयले मात्रै निर्णय क्षमता राख्छ भन्नेमा विश्वस्त हुनसक्ने ठाउँ छैन ।

पार्टीलाई छिन्नभित्र पार्न नेकपाभित्र हुँडारहरु सक्रिय छन्, दुर्वासाहरु क्रियाशील छन् । शीर्ष नेताहरुले विवेक नपुर्याए नेकपाको घैंटो फुट्ने निश्चित छ । घैंटो फुटाल्नका लागि ‘न्यारेटिभ’हरु तयारी अवस्थामा छन् । यस्तो ‘न्यारेटिभ’ लेख्न भित्रियाहरु मात्र होइन बाहिरियाहरु झन बढी सक्रिय छन् ।

नेपालको राजनीतिक स्थिरता नरुचाउने शक्तिकेन्द्र संविधान घोषणाको समयदेखि नै तड्पिरहेको छ । अझ, वृहत वामपन्थी गठबन्धन हुँदै आमनिर्वाचनसम्म पुग्दा प्राप्त झण्डै दुई तिहाई बहुमत र त्यसपछि भएको पार्टी एकतापछि त्यो शक्ति मर्माहत छ । आफ्नो निर्देशन पालना नगर्दा उसले नेपालमा के गर्यो चार वर्ष अघि वच्चा वच्चालाई थाहा छ । नेकपाभित्र चलेको शक्ति संघर्षबाट त्यो शक्तिलाई आनन्द प्राप्त भएको छ । शक्तिसंघर्षलाई चर्काउन त्यो शक्तिकेन्द्र यतिबेला काठमाडौंमा सक्रिय छ । विभिन्न आवरणमा वालुवाटारदेखि खुमलटार, कोटेश्वरदेखि भैंसेपाटीसम्म चहारिरहेको छ । अनेकौं आश्वासन बाँडिएको छ । नेताहरुलाई व्यक्तिगत रुपमा ललिपप बाँडिएको छ । नेकपाका नेताहरु हो मा हो मिलाईरहेका छन् ।

आवरणमा नेकपाभित्र चलेको शक्ति संघर्ष तीन चार जना नेताबीचको अहंकारी प्रवृत्तिको उपज देखिन्छ । तर, अन्तर्य नेपालको संविधानलाई निस्क्रिय बनाउने नै हो । मुख्य उद्देश्य नेपालमा राजनीतिक स्थिरता कहिल्यै नबनोस बन्ने नै हो । ५ वर्षसम्म नेपालको राजनीतिक दलहरुमा खुल्ला हस्तक्षेप नदेखिए पनि यसपटक बुझिने गरी बाह्य हस्तक्षेप देखिएको छ । संविधान ध्वंस गर्न यो भन्दा उपयुक्त मौका अर्को मिल्दैन । विदेशी शक्तिकेन्द्रले नेपालको आन्तरिक व्यवस्थापनमा आफु निर्णायक शक्ति भएको फेरि पनि प्रष्ट पार्न चाहेको छ । र, नेकपाका नेताहरु उनीहरुको इशारामा गिनी पिग बनेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  २ : १४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका