२९ असार २०८३, सोमबार | July 13, 2026

चिनियाँ आरोहीहरू मात्र सगरमाथाको शिखरमा पुग्नु दुर्लभ घटना



चिनियाँ सर्वेक्षकहरूको एउटा टोलीले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको छ। कोरोनाभाइरस महामारी फैलिएपछि नेपाल र चीनले पर्वतारोहणसम्बन्धी सबै गतिविधि बन्द गरेको बेला यो वर्षको वसन्तऋतुमा विश्वको सर्वोच्च शिखरमा उक्त टोली मात्र पुगेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उक्त टोली सगरमाथाको उचाइ पुनः मापन गर्न गएको हो। नेपालका अनुसार सगरमाथाको उचाइ ८,८४८ मिटर छ। तर अहिलेसम्म चीनले त्यसभन्दा चार मिटर कम भएको मानेको छ।

चिनियाँ टोलीले गत एप्रिल महिनामा आफ्नो आरोहण अभियान थालेको थियो। तर प्रतिकूल मौसमका कारण त्यो प्रभावित भयो। हावा चलिरहेको बेला सर्वेक्षकहरू सगरमाथाको चुचुरोमा काम गरिरहेको दृष्य चीनको सीसीटीभीले प्रत्यक्ष प्रसारण गरेको थियो।

आरोहण गरेपछि टोलीका सदस्यहरूले हिमाच्छादित शिखरमा सर्वेक्षणको चिनो गाडेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ। उसका अनुसार मङ्गलवार पर्वतारोहीलाई आरोहण गर्न सहज बनाइदिन डोरी टाँगिएको थियो।

चिनियाँ आरोहीहरू मात्र सगरमाथाको शिखरमा पुग्नु दुर्लभ घटना भएको बताइन्छ।

‘सन् १९६० को वसन्त ऋतुमा चिनियाँहरू मात्र शिखरमा पुगे। भारतीयहरूले प्रयास गरेका थिए तर सफल हुन सकेनन्’, पर्वतारोहणसम्बन्धी अभिलेख राख्ने हिमालयन डेटाबेसका रिचर्ड सौल्ज्ब्री भन्छन्।

यो वर्ष चीनले सगरमाथाको सफल आरोहणको ६० औँ वार्षिकोत्सव मनाउन लागेको छ।


सगरमाथाको उचाइ

चीनले सन् २००५ मा पनि सगरमाथाको उचाइ नापेको थियो। त्यसपछि उसले विश्वको सर्वोच्च शिखरको उचाइ हिउँको तहबाहेक ८,८४४.४३ मिटर भएको बताउने गरेको छ।

तर नेपालले अहिलेसम्म भारतमा ब्रिटिश शासन हुँदा निर्धारित उचाइ ८,८४८ मिटरलाई मान्यता दिँदै आएको छ। यो उचाइमा हिउँको तह पनि समाविष्ट छ।

सन् २०१५ मा नेपालमा आएको भूकम्पले सगरमाथामा पारेको प्रभावको परीक्षण हुन बाँकी नै छ। केही भूगर्भशास्त्रीहरू भूकम्पका कारण हिउँको तह खुम्चिएको धारणा राख्छन्।


सन् २०१७ नेपाल सरकारले आफैँ सगरमाथाको उचाइ नाप्ने अभियान थाल्यो। नेपाली टोलीले परम्परागत र आधुनिक प्रविधि प्रयोग गरेर सङ्कलित डेटा प्रशोधनको कार्य लगभग सकिएको बताइएको छ। अब अन्तिम चरणको काम मात्र काम बाँकी भएको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए।

‘यति बेला एउटा अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गर्ने र मापनको परिणाम सार्वजनिक गर्ने योजना थियो। तर कोभिड१९ का कारण लगाइएको लकडाउनले सबै कुरा ढिलो हुने भयो’, उनले भने।

गत अक्टोबर महिनामा चीनका राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गर्दा दुई देशले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए।

दुई देशका टोलीले फरक उचाइ मापन गरे भने के हुन्छ भन्ने स्पष्ट छैन। चीनले सन् १९७५ मा पहिलो पटक सगरमाथाको उचाइ मापन गरेको थियो।

(बीबीसीका लागि  वातावरण संवाददाता नविनसिंह खड्काले तयार पारेको यो रिपोर्ट बीबीसी नेपालीबाट साभार गरिएको हो )

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १० : ०७ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले