४ बैशाख २०८१, मंगलबार | April 17, 2024

एक मेघा प्रोजेक्ट, जसलाई लकडाउनले छोएन



नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ ।

लकडाउनले नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ रु हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ११६ मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म ३५७ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै १६ मिटरमा पाइप जडान गर्न बाँकी छ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले अब १५ दिनमा तल्लो ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ ।

सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म २१० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै १०० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको प्रवक्ता डा न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिनुभएकाले पनि थप सहजता पैदा भएको छ । आयोजनाले अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरिरहेको छ । आयोजनास्थलमा झण्डै ६५० श्रमिक हाल पनि कार्यरत छन् ।


यस्तै आयोजनामा बाँकी रहेको लाइनिङको र केमिल ग्राउटिङको कामसमेत जारी छ । केही श्रमिकले भने घर जान पाए हुन्थ्यो भन्ने माग आयोजनासमक्ष राखेका छन् । उनीहरुलाई उत्प्रेरित गरेर काममा लगाइएको जानकारी प्राप्त भएको छ । आगामी जेठ र असारको पहिलो सातासम्म पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । लकडाउनका कारण यही वैशाखमै पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही दिन काम बन्द हुँदा समयसीमा पर सरेको हो ।

यस्तै ठाडो सुरुङमा पाइप जडानका अलावा त्यसको गास ९जोड्ने स्थान० मा पनि पाइप जडान गर्नुपर्ने काम बाँकी छ । सो काममा लागि थप १५ दिन लाग्ने भएकाले असारभरिमा निर्माणको काम सम्पन्न गर्ने तयारीमा आयोजना छ । यस्तै विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरणसमेत जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट रहेका छन् ।

माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ । जुन अन्य आयोजनाका लागि समेत अनुकरणीय देखिएको छ । काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिँदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको थियो । सो समस्यासमेत हल भएकाले आयोजनाको गतिमा कुनै कमी आएको छैन ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्र्भीयतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरेको छ । आयोजनामा कार्यरत श्रमिकलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । प्रवक्ता न्यौपानेका अनुसार बाँधतर्फको सिभिलको काम पूरा भएको छ । हाइड्रोमेकानिकल गेट राख्ने तयारी गरिएको छ ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण पनि थप सहजता भएको छ ।

आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । मन्त्री पुनका अनुसार ठूला आयोजनामा काम गर्ने वातावरण गत चैत २० गतेदेखि नै मिलाइएको थियो । ऊर्जाका आयोजना मात्रै नभइ अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनको भनाइ छ । विशेषगरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव चार प्रतिशत पुगेको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाइदिएको छ । यस्तै प्रसारण लाइन निर्माण र सवस्टेशनको कामसमेत सम्पन्न हुने चरणमा पुगेकाले आर्थिक समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको माथिल्लो तामाकोशीबाट एकाध महिनामा विद्युत् उत्पादन हुने विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ०९ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि