३ पुस २०८२, बिहिबार | December 19, 2025

नेकपाभित्रको सत्ता संघर्ष आगोसरी दन्किँदै, मध्यरातमा ट्वीट गर्दै मन्त्रीद्वय भुषाल र भट्टराईले किन गरे ट्वीट !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको अन्तरसंघर्ष (सत्तासंघर्ष) भूसको आगोबाट सल्किँदै मुढाको आगो सरह दन्किन थालेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका अध्यक्ष प्रचण्ड एवं माधव नेपाल समूहले अहिले संगठित रुपमा ओलीको विरुद्ध फायर खोलेका छन् ।

मंगलबारको बैठकमा पहिलोपटक संगठित रुपमा सचिवालयका पाँच सदस्यसहित १२ स्थायी कमिटी सदस्यहरुले अध्यक्ष ओलीको कार्यशैलीले पार्टी र सरकारलाई ध्वस्त बनाएको टिप्पणी गर्दै दुवै पदबाट राजीनामा माग गरेका छन् ।

विशेषगरी गत आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा बालुवाटारभित्रै आयोजित एक कार्यक्रममा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र आफ्नै पार्टीका नेताहरु काठमाडौंका होटलमा सक्रिय रहेको गम्भीर आरोप लगाएपछि ओली इतरका नेताहरुले त्यसैमा टेकेर प्रधानमन्त्रीमाथि आक्रमण सुरु गरेका हुन् ।

ओलीले आफ्नो अभिव्यक्तिको प्रष्ट प्रमाण देखाउनु पर्ने अन्यथा कुटनीतिक सम्बन्ध खराब बन्ने र पार्टीका नेताहरुमाथि गरिएको आक्षेप अस्वीकार्य बन्ने बताउँदै नेताहरुले अब ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा अयोग्य भएको जिकिर गरेका छन् ।

पहिलोपटक प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका १२ जना स्थायी कमिटी सदस्यहरुले ओलीबाट अब नचल्ने भन्दै राजीनामा माग गरेपछि पार्टी फुटको औपचारिक दिशातिर उन्मुख हुन थालेको भन्दै कतिपय नेकपा नेता कार्यकर्ताले चिन्ता व्यक्त गर्न थालेका छन्।

गत बैशाखमा पनि झण्डैझण्डै फुटको अवस्थामा पुगेको पार्टीलाई केही नेताहरुको सुझबुझपूर्ण सक्रियताका कारण जोगाइएको थियो । पार्टीमा त्यतिबेला बनेको युद्धबिराम अहिले भंग भएको जस्तो देखिएको छ ।

सरकारका मन्त्रीसहित नेकपाका नेताहरुले समाजिक सञ्जालमार्फत पार्टीभित्रको अन्तसंघर्षबारे टिप्पणी सुरु गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यद्वय घनश्याम भूषाल र योगेश भट्टराईले मध्यराति १ बजे सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पार्टीको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नाटकीय रुपमा पार्टीभित्र बढेको सत्ता संघर्षप्रति संकेत गर्दै दुवै मन्त्रीले पार्टी जोगाउन अपील पनि गरेका छन् । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १ अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो १ नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद १’

मन्त्रीद्वय भुषाल र भट्टराई माधव नेपाल गुट नजिकका मानिन्छन् । तर उनीहरु सरकारमा रहेका कारण प्रधानमन्त्री एवं अध्यक्ष ओली विरुद्ध खुलेर बोल्ने गरेका छैनन्, जति मन्त्री नहुँदा बोल्ने गर्थे ।

यसैगरी, ओलीका अति निकट सहयोगी मानिने पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट शृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

यस्तै, गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार एवं नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदीले लेखेका छन्, ‘उत्तेजना, आवेग र क्षणिक लाभहानि होइन । दीर्घकालीन हित र लक्ष्यलाई अगाडि राखेर एकताबद्ध भएर संश्लेषण गर्नु नै अहिलेको आवश्यकता हो’ भन्दै पार्टीलाई जोगाउन अपील गरेका छन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा नियमित एजेण्डाबाट भड्किएर ओलीको राजीनामा मागिएको थियो । बैठक आज बुधबार पनि बस्दैछ । आज पनि पूर्ववत एजेण्डामा बैठक प्रवेश गर्ने सम्भावना छैन । अध्यक्षद्वयसहित शिर्ष नेताहरुमा बढिरहेको अहंकार, घमण्ड र सत्तालिप्साको चाहना घटेन भने यही बैठक नेकपा फुटको निर्णयक बैठक बन्नसक्ने देखिन्छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ५३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको