१३ भदौ २०८३, शनिबार | August 29, 2026

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम



भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्याङ्कन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ । वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले जेठमा समेत उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिइएको, मातहतका प्रहरी कार्यालयको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाइएको तथा अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय-प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो ।

डिआइजी खत्रीले प्रदेशभर शान्तिसुरक्षा सुदृढ बनाउन आफू नियमित रूपमा जिल्ला, इलाका, प्रहरी चौकी तथा सीमा क्षेत्रको निरीक्षणमा जाने, प्रहरी कर्मचारी तथा स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समस्याको तत्काल समाधानमा जोड दिँदै आएको बताए । उनले नागरिकको विश्वासलाई केन्द्रमा राखेर व्यावसायिक, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणलाई प्राथमिकतामा राखिएकाले त्यसको सकारात्मक परिणाम कार्यसम्पादन मूल्याङ्कनमा देखिएको उल्लेख गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्ज्वल खड्काले लुम्बिनी प्रदेश प्रहरीले चैत, वैशाख र जेठ महिनामा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै देशकै प्रथम स्थान कायम राख्न सफल भएको बताए । उनका अनुसार प्रदेशमा शान्तिसुरक्षा कायम गर्ने, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, अवैध भन्सार तथा राजस्व चुहावट नियन्त्रण, नागरिकमैत्री सेवा विस्तार र सङ्गठनात्मक सुधारलगायतका सूचकको मूल्याङ्कनका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरीलाई पहिलो स्थान प्रदान गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय हेक्कफर सेफ्टी, लुम्बिनी पिस वाक, साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा तथा ‘डिजिटल’ सुरक्षासम्बन्धी समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नाका साथै प्रविधिमा आधारित प्रहरी सेवाको विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

कार्यालयले आगामी दिनमा पनि शान्तिसुरक्षा, सुशासन, अपराध नियन्त्रण तथा नागरिकको विश्वास अभिवृद्धि गर्दै आधुनिक, व्यावसायिक र उत्तरदायी प्रहरी सेवाको विकासमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ९ : १९ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ