११ बैशाख २०८१, मंगलबार | April 24, 2024

सुतेको कोठाबाट भागेर ज्यान जोगियो



अछाम । अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए ।

उनि मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मङ्गलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो । मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ । ‘राति एक्कासि गड्याङगुडुङको ठूलो आवाज सुनिएपछि होटलको भुइँतलामा सुतेका सबैलाई ब्युँझाउन थाले’, दमाइले भने, ‘ढुङ्गा माटो सहितको बाढी होटलभित्र पस्न थालेपछि होटलको माथिल्लो तल्ला हुँदै ढोका तोडेर जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगायौँ ।’

भुइँतलाको कोठामा सुतेका अन्य तीन जनालाई ब्युँझाएर ज्यान जोगाउन खोज्दा आफ्ना तीनवटा झोला बाढीमा बगेको उनले बताए । रमारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोला छेउमा सैनीबजार, खालबजार र मुजाबगर बजार छन् । बाढीपछि सैनी बजारका १७ जना बेपत्ता भएकामा छजना मृत भेटिएका छन् ।

रामारोशन गाउँपालिका–५ सैनी बजारका २२ वर्षीया बबिता बुढासाउद, ४५ वर्षीय अम्मर साउद, घाइते हिक्मतबहादुर शाहकी ३० वर्षीया श्रीमती गौरी शाह, ४८ वर्षीय चन्द्र साउद र नन्दु साउँदका १२ वर्षीय छोरा नवीन साउद तथा पञ्चदेवल विनायक नगरपालिकाकाकी ४५ वर्षीया लालसरा शाहीको शव फेला परेको थियो ।

बाढीमा परी बेपत्ता हुनेमा रमारोशन–५ सैनीबजारका ४७ वर्षीय नन्दु साउद, उनकी श्रीमती ४५ वर्षीया गङ्गा साउद, छोरा २३ वर्षीय रुपेश साउद, नातिनी प्राप्ति साउद र सासू आमा बीमादेवी साउद, सोही ठाउँका ५५ वर्षीया जोगा साउद र ४० वर्षीया पवित्रादेवी शाह छन् ।

यसैगरी समीर शाह, सम्झना शाह, वसुन्धरा साउद र वसन्त शाही पनि बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको भए पनि खोला ढुङ्गा लेदो माटोले पुरिएकाले बेपत्ता हुनेहरुलाई भेटाउने सम्भावना नदेखिएको जनाइएको छ ।

बाढीका कारण सैनीबजारमा रहेको हातेकागज उद्योग, अध्ययन केन्द्र, तरकारी सङ्कलन केन्द्रको घरसहित जम्मा २५ घरपसल बगाएको छ । सैनीबजारमा राति सुतिरहेकामध्ये हिक्मतबहादुर शाहको मात्र ज्यान जोगिएको छ । बाढीले घर भत्काउँदा घाइते हुनुभएका शाहकी दुई श्रीमतीलाई बाढीले बगाएको थियो । कान्छी श्रीमतीको शव फेला परेकामा जेठी श्रीमतीको अवस्था आजसम्म अज्ञात छ ।

बजारदेखि नजीकै रहेको अग्लो भूभागमा नेराकोटा र सेरी गाउँ छ । यी गाउँका बासिन्दाको सैनीबजारमा रहेका आफ्ना घरपसलमा दिउँसोको समयमा व्यापार–व्यवसाय गरेर राति गाउँ फर्किन्छन् । बाढी पसेको मङ्गलबार राति भने सैनीबजारमा १८ जना बसेका थिए । यीमध्ये हिक्मतबहादुर शाह घाइते अवस्थामा भेटिएका थिए । रातिको समयमा नसोचेको घटना हुँदा धनजनको ठूलो क्षति हुन पुगेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

रावलले उक्त घटनामा सैनीबजारका नन्दु साउदसहित उनका परिवारका आठजना बेपत्ता भएको बताए । ‘फेला परेका शवको बिहीबार राति ११ः०० बजे दाहसंस्कार गर्‍यौँ”, रावलले भनिन्, ‘११ जनाको अवस्था अझै अज्ञात छ ।’ रासस

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना