१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सुतेको कोठाबाट भागेर ज्यान जोगियो



अछाम । अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए ।

उनि मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मङ्गलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो । मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ । ‘राति एक्कासि गड्याङगुडुङको ठूलो आवाज सुनिएपछि होटलको भुइँतलामा सुतेका सबैलाई ब्युँझाउन थाले’, दमाइले भने, ‘ढुङ्गा माटो सहितको बाढी होटलभित्र पस्न थालेपछि होटलको माथिल्लो तल्ला हुँदै ढोका तोडेर जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगायौँ ।’

भुइँतलाको कोठामा सुतेका अन्य तीन जनालाई ब्युँझाएर ज्यान जोगाउन खोज्दा आफ्ना तीनवटा झोला बाढीमा बगेको उनले बताए । रमारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोला छेउमा सैनीबजार, खालबजार र मुजाबगर बजार छन् । बाढीपछि सैनी बजारका १७ जना बेपत्ता भएकामा छजना मृत भेटिएका छन् ।

रामारोशन गाउँपालिका–५ सैनी बजारका २२ वर्षीया बबिता बुढासाउद, ४५ वर्षीय अम्मर साउद, घाइते हिक्मतबहादुर शाहकी ३० वर्षीया श्रीमती गौरी शाह, ४८ वर्षीय चन्द्र साउद र नन्दु साउँदका १२ वर्षीय छोरा नवीन साउद तथा पञ्चदेवल विनायक नगरपालिकाकाकी ४५ वर्षीया लालसरा शाहीको शव फेला परेको थियो ।

बाढीमा परी बेपत्ता हुनेमा रमारोशन–५ सैनीबजारका ४७ वर्षीय नन्दु साउद, उनकी श्रीमती ४५ वर्षीया गङ्गा साउद, छोरा २३ वर्षीय रुपेश साउद, नातिनी प्राप्ति साउद र सासू आमा बीमादेवी साउद, सोही ठाउँका ५५ वर्षीया जोगा साउद र ४० वर्षीया पवित्रादेवी शाह छन् ।

यसैगरी समीर शाह, सम्झना शाह, वसुन्धरा साउद र वसन्त शाही पनि बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको भए पनि खोला ढुङ्गा लेदो माटोले पुरिएकाले बेपत्ता हुनेहरुलाई भेटाउने सम्भावना नदेखिएको जनाइएको छ ।

बाढीका कारण सैनीबजारमा रहेको हातेकागज उद्योग, अध्ययन केन्द्र, तरकारी सङ्कलन केन्द्रको घरसहित जम्मा २५ घरपसल बगाएको छ । सैनीबजारमा राति सुतिरहेकामध्ये हिक्मतबहादुर शाहको मात्र ज्यान जोगिएको छ । बाढीले घर भत्काउँदा घाइते हुनुभएका शाहकी दुई श्रीमतीलाई बाढीले बगाएको थियो । कान्छी श्रीमतीको शव फेला परेकामा जेठी श्रीमतीको अवस्था आजसम्म अज्ञात छ ।

बजारदेखि नजीकै रहेको अग्लो भूभागमा नेराकोटा र सेरी गाउँ छ । यी गाउँका बासिन्दाको सैनीबजारमा रहेका आफ्ना घरपसलमा दिउँसोको समयमा व्यापार–व्यवसाय गरेर राति गाउँ फर्किन्छन् । बाढी पसेको मङ्गलबार राति भने सैनीबजारमा १८ जना बसेका थिए । यीमध्ये हिक्मतबहादुर शाह घाइते अवस्थामा भेटिएका थिए । रातिको समयमा नसोचेको घटना हुँदा धनजनको ठूलो क्षति हुन पुगेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

रावलले उक्त घटनामा सैनीबजारका नन्दु साउदसहित उनका परिवारका आठजना बेपत्ता भएको बताए । ‘फेला परेका शवको बिहीबार राति ११ः०० बजे दाहसंस्कार गर्‍यौँ”, रावलले भनिन्, ‘११ जनाको अवस्था अझै अज्ञात छ ।’ रासस

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : १३ बजे

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी