१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

झोलुङ्गे पुल बाढीले बगाउदा आवतजावतमा समस्या



म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ ।

रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न ४ ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले १ गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए ।

‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन’, उनले भने, ‘खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।’

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए । ‘एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ’, उनले भने, ‘दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २ सयभन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।’

साउन २०७७ यता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा ५ घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा २ वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा २ वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।

चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

१४ लाख रूपैयाँ खर्चेर २ वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

प्रवासीद्वारा पहिरो पीडितलाई सहयोग धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरूले जन्मथलोका पहिरो पीडितका लागि १३ लाख रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेका छन् । धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेसा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरूले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा १३ लाख ६५ हजार रूपैयाँ पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ । बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरूलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब २५ लाख रूपैयाँ जुटेको छ । गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए ।

मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् । पहिरोबाट घरबास गुमाएकाहरूको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार २ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरू आबद्ध युवा आवाज म्याग्दीमार्फत १ लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा १ लाख रूपैयाँ सहयोग प्राप्त भएको हो ।

२ वटै सहयोगी संस्था तथा व्यक्तिहरूले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरे । रासस

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ४१ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण