२ पुस २०८२, बुधबार | December 17, 2025

कृषिप्रतिको चाख : राजधानीबाट गाउँ फर्किएका सुवीन्द्र कृषिमा रमाउदैं



खोटाङ । ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् ।

आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका सुवीन्द्र गिरी लामो समयको काठमाडौं बसाइपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा सुरु गरेका छन् ।

राजधानी काठमाडौंस्थित चावहिलमा टेलरिङ व्यवसाय सञ्चालन गरेका गिरीले रु ३२ लाख लगानी गरेर दूधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गरेका हुन् ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीबाट ककनी मन्दिर र रक गार्डेन (ढुङ्गे बगैँचा) जाने बाटोमा उनको गाई तथा कुखुरा फार्म अवलोकन गर्न सकिन्छ । “काठमाडौंमा सञ्चालन गरिएको टेलरिङ व्यवसायबाट मेरो कमाइ राम्रै थियो”, उनले भने, “आफ्नै गाउँमा कृषि पेशाबाट पनि केहि गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएर गाई फार्म सञ्चालन गरेको हुँ ।” सुवीन्द्रको आफ्नै दिदी प्रमिला गिरीको सहयोगमा सञ्चालित गाई फार्ममा सुरुको चरणमा काठमाडौंबाट जर्सी र होलिस्टीन जातको छवटा गाई ल्याइएको थियो । गत वर्षबाट सञ्चालनमा ल्याइएको गाई फर्ममा अहिले दूध दिने माउ गाई र बाच्छाबाच्छीसहित ११ गाई रहेका छन् ।

करिब ४० रोपनी जग्गामा सुरु गरिएको फार्ममा रहेको सात वटा लैनो गाईले दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको सुवीन्द्रले बताए । “फार्ममा उत्पादित केहि दूध, दही र घ्यू हलेसी बजारमा खपत हुने गरेको छ”, उनले भने, “पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण उत्पादित दूधलाई बजार अभाव भएको छ ।” फलफूल तथा तरकारी खेतीसमेत लगाइएको सुवीन्द्रको फार्ममा अहिले स्थानीय जातका २ सय कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दोस्रो खोरमा ४ सय कुखुरा हुर्किरहेका छन् भने, तेस्रो खोरमा २ सय चल्ला हुर्कँदैछन् ।

आधिकारिक रुपमा ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता सुरु फार्ममा पालिएका कुखुराबाट सबैभन्दा बढी आम्दानी हुने गरेको सुवीन्द्रको भनाइ छ । “छुट्टाछुट्टै खोर बनाएर राखिएको कुखुरा एउटा खोरबाट बिक्री हुँदै गर्छ, अर्को खोरमा हुर्किरहेको हुन्छ”, उनले भने, “अहिले स्थानीय जातका कुखुरा फार्मबाटै प्रति किलोग्राम भाले रु ७ सय र पोथी रु ६ सयमा बिक्री गर्ने गरिएको छ ।”

सुवीन्द्रको फार्ममा पालिएको टर्कीको मासु (खानलाई तयार पारिएको) प्रति किलोग्राम रु एक हजारमा बिक्री हुने गरेको जनाइएको छ । उक्त फार्ममा टर्कीको अण्डासमेत उत्पादन गर्ने गरिएको छ । सुवीन्द्रको फार्ममा पालिएका गाईका लागि दाना काठमाडौं तथा भुस्सा तराईबाट ल्याउने गरिएको छ ।

हिउँदको समयमा पानीको अभाव हुँदा दूधकोशी नदीबाट ट्याङ्करमा ओसारिएको पानी खुवाउनुपर्ने बाध्यता छ । गाई, कुखुरा, टर्की र तरकारी खेती गर्दै आएका सुवीन्द्रले बट्टाई र परेवासमेत पाल्ने तयारी गरेका छन् । त्रिधार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवम् पर्यटकलाई लक्षित गर्दै गाई, कुखुरा र टर्की पालनमा लगानी गरेको उनको भनाइ छ ।

टेलरिङबाट सन्तोषजनक आम्दानी भइरहेको भएपनि ‘गाउँमै केही गरौं’ भन्ने सोचले लगानी गरेको सुवीन्द्रले बताए । “आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो”, उनले भने, “काठमाडौं मै लगानी गर्दा पनि हुन्थ्यो तर, गाउँमै केही गरौँ अरुले पनि सिक्छन् भन्ने मेरो सोच हो ।” पशु तथा कृषि विज्ञ केन्द्र उदयपुरमार्फत पशु ज्ञान केन्द्र खोटाङबाट गोठ सुधारका लागि रु दुई लाख र वडा कार्यालयले एउटा टनेल उपलब्ध गराएको सुवीन्द्रले बताए । फार्म सञ्चालन गरेपछि डेरी सञ्चालनसम्बन्धी कृषि ज्ञान केन्द्र खोटाङमार्फत सातदिने तालीमसमेत लिएको बताए ।

सुवीन्द्रको फार्म भएकै क्षेत्रमा उनकै नेतृत्वमा ‘हलेसी सामुदायिक होमस्टे (घरबास) माल्खु’ समेत सञ्चालनको तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा २२ घर स्थानीय बासिन्दालाई समेटेर हिन्दु संस्कारमा आधारित होमस्टे सञ्चालनको तयारी गरिएको हो । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १२ : ५९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन