१० श्रावण २०८३, आइतबार | July 26, 2026

पटके कर लगाएर नदी दोहन



काठमाडौं । काठमाडौं उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ ।

स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन् । वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का दिएको भनेपनि नदीको बालुवासमेत चोरी निकासी बढिरहेको छ ।

वाग्मती, मनोहरा, रुद्रमती, विष्णुमतीलगायत नदीको मुहानस्थलका दायाँबायाँका नगरपालिका क्षेत्रमा बालुवाका चाङ भेटिन्छ । अवैध रुपमा उत्खनन् गरिएको बालुवा राति ओसारपसार हुन्छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बालुवाको यस्तो व्यापार हुने गरेको स्वीकार गर्दै यो विषय आफूले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा उठाए पनि सुधार हुन नसकेको स्वीकार छन् । थप कुरा आफूलाई थाहा नभएकाले नगर प्रमुख सन्तोष चालिसेसँग सम्पर्क गर्न उनले सुझाव दिए ।

यससम्बन्धमा प्रतिक्रिया लिन नगरप्रमुख चालिसेसँग पटकपटक सम्पर्क गर्दा पनि उनि उपलब्ध भएनन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख नविन कार्की राजधानीमा नदीजन्य पदार्थ निकाल्न नपाइने भए पनि सबै नगरपालिकाले ठेक्का लगाएको बताउँछन् ।

शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठलगायत नगरपालिकाले पटके करको ठेक्का लगाएका छन् । ‘नदीजन्य सामग्री निकाल्न नै पाइँदैन भनेपछि कसरी ठेक्का लगाइएको हो, ५० वटा जति अवैध ओसारपसारमा सक्रिय सवारीलाई समाएर कारबाही प्रक्रिया अघि बढायौँ, डेढ दर्जनलाई मुद्दा चलायौँ, नगरपालिकाले पटके कर काटेकाले कारबाही गर्नुपर्दैन भनी लेखी पठाए, नदीमा बालुवा निकाली रहेका बेला रङ्गेहात पक्रँदा खल्तीमा नगरपालिकाले थमाएको चिट देखाएर उम्केका छन्’, उनले भने ।

अवैध रुपमा बालुवा लिएर हिँडेकामध्ये गोकर्णेश्वरबाट बढी सवारी समातिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर–२ मा वाग्मतीसम्म जाने सडकमा नगरपालिकाको बजेटबाट सडक स्तरोन्नति गरिएको छ ।

ठेकेदारलाई छुट

कागेश्वरी मनोहरामा गत वर्ष बालुवाको ठेक्कामा ठेकेदारलाई रु तीन करोड छुट दिएर अनियमितता भएको नगर प्रमुखका प्रत्यासी उपेन्द्र कार्कीले बताए ।

अग्रिम रु नौ करोडको ठेक्का गरेकामा विभिन्न बहानामा रु तीन करोड छुट दिइएको हो । आफ्ना मान्छेलाई ठेक्का परेपछि नगरपालिकाले करोडौँ छुट दिएर राजश्व काम गरेको उनको आरोप छ । ‘स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायिक समितिका रुपमा न्यायपालिकाको पनि व्यवस्था भयो, वैधानिक रुपमा प्रतिपक्षीको व्यवस्था नहुँदा स्थानीय सरकार पारदर्शी र जवाफदेही हुन सकेको छैन, विपक्षी दलले उठाएका विषयको सुनुवाइ समेत हुँदैन’, नेपाली कांग्रेस काठमाडौं २ क्षेत्रीय सभापति समेत रहेका नेता कार्कीले भने ।

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाले गत आवमा बालुवाको कर उठाउन संयुक्त ठेक्का गरेका हुन् । दुवै नगरपालिकालाई समेट्ने गरी कागेश्वरीले नै ठेक्का गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले बताए । त्यसको कागजात सबै कागेश्वरीसँगै भएकाले आफूलाई यस विषयमा थप जानकारी नभएको उनको भनाइ छ ।

ठेक्काबाट उठेको रकमको ६० प्रतिशत वाग्मती प्रदेश सरकारलाई जाने व्यवस्था छ । बाँकीको ६० प्रतिशत शङ्खरापुर र ४० प्रतिशत कागेश्वरीमा रहने नगर प्रमुख कृष्णहरि थापाले बताए । ठेक्का सम्झौता ढिला भएकाले ठेकेदारले कर नउठाएको समयमा भने छुट दिइएको उनको दावी छ ।

कागेश्वरीले वाग्मती र मनोहरा दुवै नदीलाई छुन्छ । नगर प्रवक्ता राजाराम पुडासैनी स्थानीयवासीले घर बनाउन नदीमा जग्गा जोडिएका कारण बालुवा निकाल्ने गरेको स्वीकार गर्छन् । बालुवा निकालेकालाई घर बनाउन नक्सा पास गर्न नआए कानूनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

व्यावसायिक रुपमा निकाल्नेलाई भने कारबाही गरिने नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा वाग्मती र मनोहरा किनारमा व्यावसायिक रुपमा समेत बालुवाको थुप्रो लगाएको भेटिएको उनले जानकारी दिए ।

स्थानीयवासीको ध्यानाकर्षण

शङ्खरापुर नगरपालिकामा नगर प्रमुख पदका प्रत्यासी शङ्कर तिवारी बालुवा र प्लटिङलाई स्वीकृति दिने सवालमा नगरपालिका अपारदर्शी रहेको बताउँछन् । नगरको प्रतिपक्षी दलको हैसियतले एक वर्षअघि गराएको ध्यानाकर्षणपछि सुधार हुन नसकेको उनले गुनासो गरे ।

यस विषयमा नगर प्रमुख सुवर्ण श्रेष्ठसँग पटकपटक सम्पर्क गर्दा पनि उहाँ उपलब्ध भएनन् । नदी किनारमा थुपारिएका बालुवा रातिमात्र ओसारिनुले यसभित्र केही छ भन्ने आशङ्का रहेको स्थानीयवासी झपेन्द्र खड्का बताउँछन् ।

उपत्यकाका वाग्मती र यसका सहायक नदीका बारेमा काम गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल उपत्यकाका नदीबाट बालुवालगायत नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाइएकाले कानूनी कारबाहीको प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता जनाए ।

आफू केही हप्ताअघिमात्र शहरी विकास मन्त्रालयबाट आयोजनामा सरुवा भई आएकाले यस विषयमा विस्तृत रुपमा बुझ्न लागेको उनले सुनाए । अवैध दोहनका कारण नदी गहिरिँदै गएकाले प्राकृतिक प्रकोपको जोखिम पनि बढाएको छ । सम्भावित जोखिम न्यूनीकरणका दृष्टिले पनि स्थानीय तहले कुनै कदम नचालेको स्थानीयवासीको गुनासो छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ४३ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन