२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

आज बडादशैँको आठौं दिन, महाष्टमी, शक्तिपिठमा बिधि पुर्‍याउनका लागि मात्रै बलि दिइने



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको आज आठौं दिन महाअष्टमी। देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतम बताउँछन् ।

‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो’, उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ ।

चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा. डा. गौतम बताउँछन् ।

‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने ।

यी तीन शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो । तर, कोरोना महामारीका कारण यस वर्ष शक्तिपिठहरूमा विधि पुर्‍याउनका लागि मात्रै बलि दिइने छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

घटस्थापनादेखि विजयादशमीको दिनसम्म दिइने बलि भने निरन्तर जारी रहेको उनले बताए । फूलपाती भित्र्याउँदा पनि बलिसहित पूजाराधना गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ५३ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’