६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

यसपाली त यस्तै भो दशैं, अर्को साल रमेर मनाउँला !



लेखिका

‘दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला ? चोरी ल्याउँला, धत् पापी ! चोर्न भन्दा छुट्टै बसौँला’ ।  हामी सानैँ छँदा लय मिलाउँदै गाउने गरेको यो गीत अहिले मेरो सानो नातीले पनि गाउँछ । कौसीमा बनाइदिएको पिङ खेल्दा उसलाई आनन्द आउँछ । कान्छी औँलाबाट गन्दै गाउँदा जाँदा पाँचौंमा बुढी औँला पर्छ । बुढी औँलालाई चोरी चाकरी गर्न मन पर्दैन, त्यसैले चोर्न भन्दा छुट्टै बसौला भनेको होला आखिर सदाकालदेखि गाईंदै बोलिँदै आएको यो भनाइले दशैंको दशा र गरिबीको सामाजिक अवस्थालाई पनि दर्शाएको देखिन्छ ।

कोरोना भाइरसको महामारीकै बीच फेरि दशैं आएको छ । हुन त पहिलो वर्षजस्तो दशैं मनाउन कसैका लागि पनि सजिलो छैन । भर्खरै कोरोना संक्रमणको शिकारबाट मुक्त भएकी म र मेरो परिवारका सदस्यका लागि यसपटकको दशैं उल्लासको पनि छैन । जतासुकै कोरोनाको कहर छ । कोरोनाकै कारण कैयौंका परिवार उजाडिएका छन् । आठसय भन्दा बढी मानिसको मृत्यु गराइसकेको कोरोनाबाट अझै पनि ५० हजारजति निको नभैसकेका संक्रमित देशभरी रहेको बेलामा पहिलेजस्तो दशैं त कसरी मनाउन सकिएला र ! तै पनि आखिर हामीले मान्दै आएको सबैभन्दा ठूलो चाड पनि त हो । संस्कार, भावना र विश्वासले दशैंलाई सबैसँग नजिकिने माध्यम बनाएकै हुन्छ । पहिलेजस्तो सबैसँग भेट्न नपाएपछि टीका साट्न नपाएपनि फोनैबाट भएपनि भिडियो म्यासेन्जरबाटै भएपनि मनाउन त पर्ला नै !

कौसीमा बसेर नागार्जुन डाँडातिर टोलाउँदै धेरै वर्ष अघिको दशैं सम्झिन मन लाग्छ । देशमा दशै आएको छ । मीठोचोखो खाने, नानाचाचा फेर्ने र ठूलावडासित आर्शिवाद थाप्ने चाड हो दशैं । गच्छे अनुसार दशैं सबैले मनाउनुपर्छ । छोरीहरू फाटेका जामा फेर्न आतुर छन् । छोराहरू जाँगे र कमिज पाइन्छ कि भनेर प्रतिक्षामा छन् । आम इज्जतअनुसार परिवारलाई एकसरो न्यानो कपडाको व्यवस्था गरिदिने जिम्मेवारी आखिर अभिभावकै काँधमा त छ नि ! ‘खानेलाई यति जावो कमाउनेलाई कति गाह्रो’ भन्छन् । आफ्ना नानीहरू, जहान परिवारको मन वर्ष दिनको चाडमा खुसी पार्ने रहर कसलाई हुँदैन र ? नानीहरूको मन कुँढिदा घर मुलीलाई कति पीडा हुन्छ भन्ने कुरा मैले भोग्दै आएकी छु । सबै रमाउने चाड हो यो तर सबैलाई पुगिसरी कहाँ आउँछ र ?

भोकै परे पनि चोर्न हुन्न भन्ने संस्कार हो हाम्रो । त्यसैले हामी लुटको संसारबाट निकै टाढा छौ । लुटको संसारमा रमाएकाहरू रमझमका साथ दशै मनाउँछन् होला । तर जनता भने आफ्नो गच्छे अनुसार दशै मनाएर रमाउँछन् ।

श्रमिक मजदुर किसानका लागि समय समयमा आराम गर्ने र रमाउने अवसर चाहिन्छ । बर्खाको कामको बोझबाट अलि फुर्सदको समय भनेको किसानका लागि असोज महिना हो । खेतीपातीको काम सकिएको हुन्छ । अँध्यारो बर्खा सकिएर रमाइलो शरद सुरु हुन्छ । यो बेला साँच्चै उज्यालो मौसम हो भन्ने लाउँछ । न जाडो न गर्मी, न हिलो न धँुवा धुलो । न कामको चापाचाप । राम्रो समय छानेर दशैं मनाउने चलन चलाएका रहेछन् जिजुबराजेले ।

कति पढेलेखेकाहरू विदेशिएपछि देशको सत्तोसराप गर्दछन् । तिम्री आमा घरमा छट्पटाइरहेकी छन् । आफ्नी आमालाई भोकभोकै छाडेर आफ्नी आमाको छोराछोरीको मुख देख्ने रहर तुहाएर अर्काकी आमाको लुढीँपोतो गरेर रमाउनेलाई नेपाल आमाले अवश्य पनि राम्रो त मानेकी छैनन् ।

दशैं हाम्रो खुसीहुने अवसर हो, परम्परा र संस्कृति हो । शरीरमा आन्तरिक उर्जा भर्नका लागि पनि समय समयमा आ–आफ्ना तरिकाले चाडवाड मनाएर केही समय रमाउनुपर्छ, खुसी साटनुपर्छ । दशै त्यही खुसी साट्ने चाड हो । आफ्नै शरीर र मनभित्र उर्जा भर्ने अवसर पनि हो भन्ने लाउँछ ।

समय परिवर्तन भएको छ । हिजोसम्म मानिस खेतीपातीमा मात्र सीमित थियो । तर आज खेतीपातीबाहेक अरू व्यवसायमा लाग्नु पर्नेभयो । देशविदेशको अवसर खुल्यो । आज हाम्रा छोराछोरीहरू संसारका विभिन्न देशमा पुगेर पसिना बगाइरहेका छन् । संसारमा इमान्दार जातिको परिचय बनाउँदै पसिना पोखेर कमाई गर्छन् र त्यही चोखो पसिनामा रमाउँछन् । ४५–५० डिग्रीको खाडीको रापमा हाम्रा छोराछोरीको शरीर डढेको छ । यता दशैमा जहान छोराछोरी र बुढाबुढीले परदेशीको बाटो पर्खिबसेका हुन्छन् । उता परदेशी छोरा घर परिवार सम्झेर तड्पिरहेका हुन्छन् । आफ्नो लाम्टो चुसाएर तोपेका सन्तानको बाटो हेरेर बसेका हुन्छन् बुढाबुढी । अर्को दशैं देख्न पाइने हो कि होइन भन्दै सुस्केरा हाल्छन् ।

दैनिक हजारौं बुवा बाहिरिन्छन् । आमाबाबुको थाप्लोमा परेको ऋणको भारी कमगर्न र दशैं जस्ता चाडपर्व राम्रोसित मनाउने परिवारको नाङ्गो शरीर ढाकेर इज्जत जोगाई दिने उद्देश्य र उत्साह बोकेर जान्छन छोराछोरीहरू । कतिले जहान परिवारलाई बिर्सेर उतै वेपत्ता हुन्छन् । कति बाकसमा बन्द भएर अन्तिम संस्कारको लागि विमानस्थलदेखि घाट सम्मको यात्रा गर्छन् । कति पढेलेखेकाहरू विदेशिएपछि देशको सत्तोसराप गर्दछन् । तिम्री आमा घरमा छट्पटाइरहेकी छन् । आफ्नी आमालाई भोकभोकै छाडेर आफ्नी आमाको छोराछोरीको मुख देख्ने रहर तुहाएर अर्काकी आमाको लुढीँपोतो गरेर रमाउनेलाई नेपाल आमाले अवश्य पनि राम्रो त मानेकी छैनन् ।

बाध्यता र विवशता सोचे जस्ता सरल र सहज हुँदा रहेनछन् । कति विदेशिए बाध्यताले । अर्कोथरी हुने खानेले छोराछोरी पढाउने नाममा पठाए । कर्मचारीका छोराछोरी र आफन्तहरू चैन काटन विदेशिए । घरानीया व्यवसायीहरूले देशको पैसा उतै ओसारे । नेता र उनीहरू छोरछोरीहरू पनि उतै आकर्षित भए । कालो मैलो धन निकासी गर्ने माध्यम पनि बनेको छ विदेशतिरको पढाइ ।

एउटा चाडको ऋण थाप्लोमा बोकेर हिँड्दाको पीडा कति हुन्छ भन्ने कुरा भुक्तभोगीलाई मात्रै थाहा हुन्छ । मीठो मसिनो जे छ त्यसैमा रमाउन जान्नुपर्छ । अरू घोडा चढे भन्दैमा हामी धुरी चढ्नु पनि त भएन ।

यहाँ दुःखपाएर रोजगारी खोज्दै विदेशिएकाहरूले दुःखजिलो गरेर इमानको कमाइ पठाएको पैसाले देश छ । त्यही पैसाले घरव्यवहार चलेको छ । सरकार नि यसैले चलेको छ भन्छन् । तर अर्को थरी भने उताबाट आएको पैसा हात पारेर उतै पठाइदिएका छन् छोराछोरी पढाउने नाममा ।

यता वुढावुढी लालावाला निरास छन् दशैमा । कमाई गर्ने कोही नभएर धानफल्ने खेत बाँझै छ । उता खाडीमा रोएका छन् छोराछोरीहरू । दशैमा वृद्ध बाबु आमाको आशीर्वाद थाप्न नपाएर । यता जमिन बाँझिएर मरुभूमि हुँदै छ । मरुभूमिमा नेपाली छोराको पसिनाले बालुवा र बगरलाई हराभरा बनाएको छ । यताआफ्नो घर बर्खामा चुहिएर बेहाल छ, उता नेपालीका हातले गगन चुम्बीमहल बनाई दिदैछन् अरूका लागि ।

हामी मणि हराएको सर्प झै भौतारिएका छौ । कस्तुरीको भेउ पाउँदैन कस्तुरी मृगले र सिकारीको सिकार बन्छ । त्यस्तै हामी पनि कस्तुरी जस्तै बनेर सिकारीको सिकार बनेका छौ । हाम्रै वरिपरि पनि त छन् रोजगारीका सम्भावना तैपनि हाम्रा सन्तान विदेशतिरै आकर्षित हुदै गएका छन् । सरकारले देश भित्रै रोजगारीका अवसर बनाएर छोराछोरीलाई देश बनाउन लगाउनुपर्नेमा विदेश पठाएर पैसा बुझ्न सजिलो ठानेको छ । देशको यस्तै आर्थिक सामाजिक अवस्थामा हरेक वर्ष दशै आउँछ कतिको घरमा मासुभात हुन्छ । धेरै नेपाली आमाको आाखामा आँशु बहन्छ ।

दशैंहाम्रो ठूलो चाड हो । हामी सबैले उल्लासमय तरिकाले मनाउन पाउनुपर्छ । हुनेखाने छर छिमेकीले तडकभडक देखाउँछन् । धेरै धन हुनेहरू यहाँ खर्च गर्ने ठाउँ नभएर परिवार खेदेर विदेशतिर उड्न थालेका छन् । ‘हुनेलाई माथैमाथ नहुनेलाई पुर्पुराँ हात’ भन्छन् । तर आजको युग पुर्पुरोमा हात राखेर लाभिने वा पछुताउने दिन होईन । साहूको ऋणमाथि ऋण थपेर जोर खसी काटेर आफुलाई जोडका तोड देखाउनु उचित पनि त छैन । एउटा चाडको ऋण थाप्लोमा बोकेर हिँड्दाको पीडा कति हुन्छ भन्ने कुरा भुक्तभोगीलाई मात्रै थाहा हुन्छ । मीठो मसिनो जे छ त्यसैमा रमाउन जान्नुपर्छ । अरू घोडा चढे भन्दैमा हामी धुरी चढ्नु पनि त भएन ।

धनीमानीहरूले हाम्रा चाडपर्वलाई बिटुल्याउँदै छन् । विकृत बनाउँदै छन् । दशैमा जम्मा हुने र ठूलठूलो जुवा खेल्ने, रक्सी र वियरका कार्टुनका कार्टुन भित्राउने मातिने र यसै बेलालाई महिला हिंसा, बलात्कार र हत्याका घटना आखाँका अगाडि आएका छन् । शहरको रोग क्रमशः गाउँघरतिर पनि फैलिन थालेको छ । यसै अवसरमा हुलहुज्जत, चोरी, हत्या, अपराधका घटना पनि थपिन थालेका छन् । यो राम्रो होईन । यसप्रकारका विकृतिबाट हाम्रा चाड पर्वलाई जोगाउनुपर्छ ।

दशै असोज–कात्तिकतिर पर्छ । असाध्य रमाइलो मौसम हो यो । दशैमा लठे पिंगमा विशेष केटाकेटी खुबै रमाउँ छन् । एकपटक परिवार जम्माहुने, भेटघाट गर्ने मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद थाप्ने चलन रहदै आएको छ । दशैमा विषेश महिलाशक्तिको महिमालाई महत्व दिइएको छ । नवदुर्गाको नौ दिनसम्म दुर्गामाताको पूजाअर्चना गरिन्छ । मातृ शक्तिको सम्मानका लागि चलाइएको यो चाडको विषेश महत्व छ । अष्टमीका दिन कृषिऔजार समेत् खड्गको पूजा हुनछ । कृषि प्रधानयुगमा कृषि औजारको महत्ववमेध थियो हाम्रा पुर्खाहरूलाई । शासक वर्गले राज्य सत्ताको बचाउका लागि जम्मा पारेका हतियार वर्षको एकदिन बाहिर निकाल्ने पुछपाछ गर्ने चलन पनि ठिकै लाग्छ । अष्टमीको मध्यरातमा कालारात्रीको बोको वलीदिने चलन छ शक्ति पिठहरूमा । बागलुङ कालीकाको मन्दिरमा पनि वली चढाइन्छ । बलेवाको कोटमा पनि नौ दिन कोटघरभित्र उपासु बसेर कालारात्रीको बोको वलीदिने चलन पहिलेदेखि नै रहे छ ।

म तीनचार वर्षको दशैमा भारतको बिभिन्न शहरमा थिएँ । त्यहाँ दशैंलाई त्यति महत्वदिएको देखिन । तिहारमाभने देवीका ठूल ठूला पण्डाल बनाएर धुमधामका साथ मनाइन्छ । कलकत्तामा त पण्डाल बनाउने प्रतिस्पर्धानै नै हुनेरहेछ । पैसाको पूजा गर्ने भएर होला यति महत्व दिएको भन्ने सोचेकी थिएँ ।

नेपालमा विजया दशमीलाई विजयको प्रतिक पनि मानिन्छ । दशैलाई रामचन्द्रले रावणलाई जीतेको अवसरमा दशैं मनाएको भन्ने किंवदन्ति पनि छ । महिसासुर भन्ने राक्षसलाई देवताहरूले हराउन सकेनन् । केही सिप नलागेपछि सवै देवतामिलेर देवीको शरणमा गए । देवीले कालीमाताको रूप धारण गरेर एकलै महिसासुरलाई बध गरे पछि देवताहरूले देवीको आराधना गर्ने परम्परा चलाए । देवीभागवतको पुस्तक धेरै पटक पढेकी छु । त्यही लेखिएको छ । पुरोनो साहित्यले महिला शक्तिको महिमाको व्याख्या गरेको छ त्यहाँ । जे भएपनि दशैं मातृ शक्तिको प्रतिकको रूपमा मनाउनु राम्रो हो । मातृ शक्ति अन्तिम निष्कर्समा सबभन्दा शक्तिशाली छ । तर त्यसलाई पुरुष जातिले सबभन्दा कमजोर बनाएको छ ।

दशैंवर्षको एकपटक सबै परिवार जम्माहुने, खानेपिउने र आफ्नै पसिनामा रमाउने चाड हो । दशैं मनाउने आआफ्नो शैली र समझ हुनसक्छ । हामीले हाम्रा परम्परालाई निषेध गर्न सक्दैनौ । हाम्रा संस्कृति पनि हुन् हाम्रा चाडपर्वहरू । युग सापेक्ष यी पनि विकसित हुन सक्छन् । विकासको नाममा विकृत पार्ने र विरोध गर्ने तरिका राम्रो होइन । आफु सित त्यसैमा रमाउन सक्नुपर्छ ।

फेरि आजको दिनमा फर्किन्छु । यसपटकको दशैं कोरोनाको बीचोबीच कहरमा पर्यो । चैतदेखि सुरु भएको कोरोना भोलि सकिएला पर्सि सकिएला भन्दाभन्दै अहिलेसम्म आइपुग्यो । अझै जाडोमा झन धेरै फैलिन्छ भन्छन् । कोरोनाले धेरैलाई दुःखी बनायो । मलाई पनि दुःखी बनायो । कोरोना कहरको बीचमा पहिले जस्तो दशैं मनाउन नपाएपनि स्वीकार गर्नुको विकल्प रहेन । सबै जना जो जहाँ छौं त्यहीँ बसेर दशैं मनाउनुको विकल्प देखिएन । ज्यान जोगाउन सके अर्को वर्ष त आइहाल्छ ।

जीवन शर्माले गीत बनाउनुभएको थियो, ‘यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैंमा’ । विदेशीएका छोराछोरीको भावना र व्यथालाई संगालेर बनाएको त्यही गीत यसपाली कोरोनासँग पनि मिल्दोजुल्दो भयो । ‘यसपाली त यस्तै भो क्यार्नी अर्को साल मनाउँला रमेर  !!!’

 

लेखिका सरला शर्माको यो आलेख उनको प्रकाशोन्मुख कृति  ‘जीवनको गोरेटोमा’ समावेश छ

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ११ : ०० बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए