१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भारतीय विदेशसचिव नेपाल आउँदै, सीमाविवाद र कोसी बाँधबारे छलफल हुनसक्ने



काठमाडौं । हालैका दिनमा भारतीय अधिकारीहरुको नेपाल भ्रमण निकै बाक्लिएको छ । भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला आगामी मंसिर ११ गते नेपाल आउने भएका छन् ।

नेपालमा सत्तारुढ पार्टीका शिर्ष नेतृत्वबीच चरम द्वन्द्व बढिरहेको बेला एकपछि अर्को भारतीय अधिकारीहरुको भ्रमण बढेको हो ।

रअका प्रमुखलाई आफ्नै निवासमा मध्यरातमा भेट गरेपछि आलोच्य बनेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग बिग्रिएको सम्बन्ध विस्तारका लागि निरन्तर प्रयत्नशील छन् । भारत पनि झण्डै दुई तिहाई बहुमतको सरकारका वर्तमान प्रधानमन्त्री ओलीसँगै सम्बन्ध पुनर्स्थापित गरी आफ्नो लक्ष्य भेटाउन चाहन्छ ।

जस्तो सुकै विवाद भएपनि आ–आफ्नो राष्ट्रिय स्वार्थका लागि दुई मुलुकका नेता र अधिकारीहरुबीचको केमेष्ट्री मिल्न थालेपछि भारतीय अधिकारीहरुको नेपाल भ्रमण बाक्लिन थालेको हो ।

भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणका समयमा दुई मुलुकका विदेशसचिवस्तरीय वार्ता हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाली समकक्षी भरतराज पौडेलसँग सीमा विवाद लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । कतिपय महत्वपूर्ण विषयमा भारतले नेपालको पाइन समेत नाप्नेछ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी गत वर्षको यसै समयमा नयाँ नक्शा जारी गरेपछि बिग्रिएको सम्बन्ध नेपालकै भूमिहुँदै बनाएको सडक उड्घाटन गरेपछि गत वैशाखदेखि थप बिग्रिएको थियो । त्यसलगत्तै नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेट्दै नेपालले नयाँ नक्शा सार्वजनिक गर्दै संविधानको अंग बनाएपछि भारतले नेपालविरुद्ध थप दबाबको रणनीति अख्तियार गरेको थियो ।

तर, बाहिर विवाद देखिए पनि सरकारले भारतसँग सम्बन्ध विस्तारका लागि सबैखाले संयन्त्र प्रयोग गरेको थियो । भारतले पनि नेपालसँग सम्बन्ध थप बिग्रिँदा नेपाल चीनको पोल्टामा पुग्ने डरले सम्बन्धलाई पुनस्र्थापित गर्न चाहेको थियो । गत अगष्ट १५ तारिकमा भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेपछि दुई मुलुकका नेताहरुबीच खुल्ला र गोप्यरुपमा सम्बन्ध विस्तारको श्रृंखला बढेको हो ।

भारतीय विदेश सचिव श्रृंगलाको आउँदो नेपाल भ्रमण पनि यसैको विकसित अवस्था भएको परराष्ट्रमामिला जानकारहरुले बताएका छन् ।
श्रृंगलाले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने छन् ।

दुई मुलुकका परराष्ट्रसचिवस्तरीय छलफलमा सीमासम्बन्धी प्राविधिक स्तरीय समितिको बैठकको मिति तय गर्ने विषयको एजेण्डामा चर्चा हुनेछ ।

यसैगरी पञ्चेश्वर बहुउदेश्यीय परियोजना, जलविद्युत आयोजना र ठूला नदीहरुमा बाँधको विषय पनि एजेण्डामा सामेल हुनेछ ।

यसपटक छलफलको सबैभन्दा महत्वपूर्ण एजेण्डा कोसी बाँध र सुपुर्दगी सन्धीको विषय बन्न सक्ने परराष्ट्र स्रोतले जनाएको छ ।
२५ अप्रिल १९५४ मा कोसी सम्झौता भएको थियो । त्यसपछि सन् १९५८ देखि निर्माण सुरु भएको कोशी बाँधको काम १९६२ मा पुरा भएको थियो ।

कोशी बाँधको आयु समाप्त भैसकेको छ । बाँध जिर्ण भएको छ । नेपालको पूर्वपश्चिम राजमार्ग समेत यसैबाँधबाट जोडिन्छ ।

कोशी बाँध भत्कियो भने भारतको विहारको ठूलो भूभाग डुवानमा पर्छ । अहिलेपनि नदीमा बाढी आउँदा विहारमा डुवान हुन्छ । त्यसैकारण भारतले यो बाँधको विकल्पमा कोसी उच्च बाँध बनाउन नेपाललाई धेरै वर्षदेखि दबाब दिँदै आएको छ । तर, उच्च बाँधबारे नेपालभित्रै अहिलेसम्म सहमति बनेको छैन् । कोसी उच्च बाँध बन्न नसक्ने अवस्थामा फेरि यही बाँधको पुनर्निर्माण भारतका लागि अनिवार्य बनेको छ ।
त्यसैले भारतले यतिबेला नेपालमाथि कोसी बाँधको पुनर्निर्माणका लागि नेपाललाई दबाब दिइरहेको छ । नेपाल भ्रमण गर्ने सबै भारतीय अधिकारीहरुको मुख्य चासो कोसी बाँध नै बनेको छ ।

भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यो बाँधबारे पुनः सम्झौता गर्न पहल गरिरहेको छ । प्रधानमन्त्री ओलीबाहेक यो सम्झौतामा हस्ताक्षर गर्नसक्ने नेपालमा अर्को कोही नेता नभएको भारतको निस्कर्ष रहेको स्रोतले बताएको छ ।

यदि नेपालले कोशी बाँधबारे सम्झौता गरे भारतले नेपाललाई बंगलादेशसँग जोडिने सहज व्यापार मार्ग उपलब्ध गराउने प्रतिवद्धता जनाउने छ । बंगलादेशसँग नेपालको छुट्टै विद्युत प्रसारण लाइन समेत निर्माण गर्न जमिन उपलब्ध गराउने भारतले वाचा गरेको स्रोतले बताएको छ ।

यसैगरी सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न समेत भारतले नेपालमाथि निरन्तर दबाब दिइरहेको छ । केही महिना अघि सन्धीको संशोधित ड्राफ्ट नेपाललाई दिएको भारतले यसै वर्षको अन्तसम्ममा सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न निरन्तर अनुरोध गरिरहेको छ । तेस्रो मुलुकका व्यक्तिलाई समेत सुपुर्दगी गर्नुपर्ने भारतीय प्रस्तावमाथि नेपालले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

भारतीय विदेश सचिवको भ्रमणका क्रममा कोरोना भाइरसको खोपबारे पनि छलफल हुनेछ । भारतले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता यसअघि पनि जनाइसकेको छ । तर, सो खोपको तेस्रो चरणको ट्रायलका लागि भारतले नेपाललाई अनुरोध गर्नसक्ने स्रोतको दाबी छ ।

नेपालले सम्बन्ध सुधारका लागि हरियो बत्ति बालेपछि नोभेम्बर ४ तारिकमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र त्यसअघि भारतीय गुप्तचर संस्था रअका प्रमुखसामन्त गोयलको नेपाल भ्रमण भैसकेको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ५६ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल