२९ भदौ २०८३, सोमबार | September 14, 2026

विद्युत आपूर्ति निरीक्षण गर्न लक्ष्मी पूजाको समयमा उर्जामन्त्री पुन भारप्रेषण केन्द्रमा



काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन् ।

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् ।

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ ।

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ ।

विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताए ।

‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भने ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल गरे ।

सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ ।

अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ । प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत माग १२ सय मेगावाट थियो ।

प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत उपलब्ध छ । मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

मन्त्री पुन राति अबेरसम्म भारप्रेषण केन्द्रमै रहने कार्यक्रम छ । मन्त्री पुनलाई भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ३७ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा